प्रस, वीरगंज, ३१ साउन/
प्रदेश नं दुईका मुख्यमन्त्री लालबाबू राउत गद्दीले अपराध गरेपछि समातिन्छ भन्ने सन्देश प्रवाह हुनको लागि पनि सिसिटिभी क्यामरा सहायक हुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्सामा आइतवार सिसिटिभी एलइडी भिडियो वाल तथा नियन्त्रण कक्ष भवनको उद्घाटन गर्दै मुख्यमन्त्री गद्दीले महानगरमा हुने सबैखाले अपराध नियन्त्रणका लागि सिसिटिभी सहायक साबित भएको बताए । उनले वीरगंजमा विभिन्नखाले अपराध भइरहेका र त्यसमध्ये धेरै अपराधको छिनोफानोमा सिसिटिभी सहयोगीसिद्ध हुने गरेको बताए ।
यहाँका उद्योगी, व्यापारीहरू विभिन्न कारणले आफूलाई असुरक्षित महसूस गरिरहेको र वीउवासङ्घका पूर्वअध्यक्ष गोपाल केडियामाथि गोलीसमेत प्रहार भएको घटना स्मरण गर्दै यस्ता सबै घटनालाई नियन्त्रण गर्न उद्योगी–व्यवसायीबाट शुरू भएको सिसिटिभी निगरानीमा सबैको सहयोग बढिरहेको र आफूले पनि सहयोग गर्ने बताए । उनले प्रदेश सरकारबाट यसका लागि रु ४० लाख यसअघि नै दिने आफूले घोषणा गरे पनि सोअनुरूपको कार्य नभएकोमा दुःखेसो पोखे।
उनले आफ्नो संसदीय विकास कोषबाट सिसिटिभीको निगरानी प्रभावकारी बनाउन थप सहयोग गर्ने आश्वासन दिए । मुख्यमन्त्री गद्दीले राजमार्गमा समेत सिसिटिभी जडानको लागि आफूले पहल गरिरहेको र सो कार्यले पूर्णता पाएपछि दुर्घटना न्यूनीकरणका साथै घटित घटनाका दोषीलाई कारबाई गर्न सहज हुने बताए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, प्रदेश २ का प्रहरी नायब महानिरीक्ष्Fक उमेश रञ्जीतकार, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले एलइडी टिभी जडानपछि शहरमा निगरानी बढ्ने र अपराध न्यूनीकरण हुने विश्वास व्यक्त गरे । उनीहरूले प्रहरी कारबाईमा सिसिटिभी क्यामरा सहयोगीसिद्ध भइरहेको र यसको प्रभावकारितालाई अझ बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिल (पटवारी) अग्रवालले कार्यपत्र प्रस्तुत गर्दै वीउवासङ्घको सहकार्यमा सेफर वीरगंजमार्फत २०६७ सालदेखि सिसिटिभी क्यामरा जडान भएको बताए । उनले हाल ८२ वटा सिसिटिभी क्यामरा जडान भएपनि ३४ वटा मात्र सञ्चालनमा रहेको र पूर्ण सञ्चालनको लागि सबैको सहकार्य आवश्यक रहेकामा जोड दिए ।
वीउवासङ्घका महासचिव एवं सेफर वीरगंजका अध्यक्ष मनोज दासको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, जन्नत अन्सारी, मन्जुर आलम, सिंहासन साह कलवार, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, वीरगंज ब्यारेकका मेजर नैना बस्नेतलगायतको सहभागिता थियो ।
आज जडान भएको एलइडी टिभी जडानमा मुख्यमन्त्री गद्दीले रु ३१ लाख र सङ्घीय सांसद प्रदीप यादवले रु ८ लाख आआफ्नो संसदीय विकास कोषबाट सहयोग गरेका थिए ।