प्रस, रौतहट, ३१ साउन/
रौतहटमा नेपाल राष्ट्रिय कलाकार सङ्घ गठन भएको छ । जिल्लाकोे चन्द्रपुरस्थित चाँदनी कला प्रशिक्षण केन्द्रमा आइतवार सम्पन्न कलाकर्मीहरूको भेलाले नेपाल राष्ट्रिय कलाकार सङ्घ, रौतहट गठन गरेको हो ।
भेलाले राकेशकुमार दासको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिको अध्यक्ष दास, उपाध्यक्ष राकेश यादव, कोषाध्यक्ष प्रिया तिवारी, सचिव मेवालाल यादव, सहसचिव सञ्जय सिंह र सदस्यहरूमा सूर्य कुशवाहा, चन्दन महतो, मुकेश रङ्गिला, देवानन्द यादव, सूर्य राई र प्रवीण साह चयन भएका छन् ।
सङ्गठनको अभावमा कला संस्कृतिको संरक्षण नहुनुका साथै प्रतिभा प्रस्फुटन हुन नसकेको भन्दै भेलाका सहभागीहरूले सङ्गठन निर्माणमा जोड दिएका थिए । हरेक स्थानीय तहमा कलाकारलाई प्रोत्साहन, संवर्धन एवं विकासका लागि बजेट आए तापनि यस क्षेत्रमा सङ्गठन नभएकै कारण उक्त बजेट पालिकाले हिनामिना गरिरहेको भेलाका वक्ताहरूले बताए ।
नवगठित सङ्घले समाजमा लोपोन्मुख लोकगीत (झिझिया, समाचकेवा, होली गीत)लगायतको खोज, अनुसन्धान एवं संरक्षणमा लागिपर्ने उद्देश्य लिएको नेपाल राष्ट्रिय कलाकार सङ्घले जनाएको छ ।
कार्यक्रममा चाँदनी कला प्रशिक्षण केन्द्रका अध्यक्ष शेख फूलबाबू, वरिष्ठ गायक कृष्णनन्दन कृष, रौतहटका चर्चित कोरियोग्राफर राकेशकुमार दास, आरोही टेलिभिजनका अध्यक्ष मेवालाल यादव, पत्रकार चन्दन महतो, छायाकर्मी सञ्जय सिंह, मोडेल प्रिया तिवारी, एम–एक्स भोजपुरी कम्पनीका अध्यक्ष सूर्य कुशवाहा, मिस्टर राज, मुकेश रङ्गिला, देवानन्द यादव, राकेश राही यादवलगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।