– हरि लामिछाने
काठमाडौं, ३१ साउन/रासस
वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ ।
नेपाल स्टक एक्सचेन्जमा हालसम्म जलविद्युत् क्षेत्रका ४० कम्पनीका ८३ लाख ६७ हजार ४७९ शेयरको कारोबार हुँदै आएको छ । गत बिहीवारको कारोबार हेर्ने हो भने कुल कारोबार रकमको ३१ प्रतिशत हिस्सा यस क्षेत्रको छ । त्यस दिन रु १७ अर्ब ५० करोडको कुल कारोवार भएको थियो । त्यसमध्ये जलविद्युत् क्षेत्रको रु पाँच अर्ब ५० करोड बराबरको शेयर कारोबार भएको थियो । बिहीवार सबैभन्दा बढी न्यादी हाइड्रोको शेयर रु एक हजार ३४४ मा कारोबार भयो भने सबैभन्दा कम खानीखोलाको रु ३८० मूल्यमा कारोबार भएको थियो ।
जलविद्युत् कम्पनीको शेयरमा अस्वाभाविक चलखेल भएको साधारण लगानीकर्ताले गुनासो गर्दै आएका छन् । ऋण तिर्न नसक्ने, प्रतिशेयर आम्दानी कम तथा खुद मूल्य कमजोर भएका कम्पनीको शेयरमा उछाल आएको तर त्यसप्रति नियमन निकायले कुनै चासो नदेखाएको भन्दै मन्त्रालयमा सर्वसाधारणको गुनासो आउने गरेको छ ।
पछिल्लो दुर्ई सातादेखि दैनिकजसो मन्त्रालयमा गुनासो आउने गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । हुन पनि बजारको कारोबार र शेयर मूल्यको अवस्था हेर्ने हो भने चिलिमे, बुटवल हाइड्रोपावरलगायत कम्पनीको शेयर त्यस्तो आकर्षक देखिएको छैन तर अन्य कम्पनीको मूल्य अस्वाभाविक देखिएको छ । पछिल्लो समय डेभलपरको विश्वसनीयता, पानीको बहाव (हाइड्रोलोजी), भौगर्भिक अवस्थाको आधार मानेर भन्दा पनि हल्लाको भरमा शेयर कारोबार भएको जानकार बताउँछन् ।
प्रसारण संरचना, वार्षिक ऊर्जा उत्पादन, तीन वर्षसम्मको खर्च तथा आम्दानी, आयोजनाले प्रभावित क्षेत्रका जनतालाई कतिको विश्वस्त पारेको छ, नियमित साधारणसभा गरेको छ कि छैन भन्नेजस्ता साधारण सूचकको मूल्याङ्कनविना शेयरमा हुने चलखेलका विषयमा नियमन निकायले बेवास्ता गरेको सर्वसाधारणको गुनासो छ ।
लकिङ खुलेपछि छाडा
विद्युत् नियमन आयोग ऐन, २०६४ र नियमावली, २०७५ अनुसार जलविद्युत् डेभलपरले साधारण शेयर जारी भएको तीन वर्षपछि शेयर बिक्री गर्न पाउँछन् । तीन वर्षको ‘लकिङ’ अवधि पूरा गरेका ठूला कम्पनीले शेयर मूल्य बढाउन चलखेल गरेको पाइएको छ । पछिल्लो समय बजारमा राइट शेयर र बोनस शेयरको हल्ला चलाउने, आपसी सहमतिमा कारोबार गर्ने तथा शेयर मूल्य बढाउनकै लागि तथ्यहीन सूचना प्रवाह हुने गरेको सर्वसाधारण लगानीकर्ताको बुझाइ छ ।
बजार प्रभावित गरे कारबाई
बैंकको ऋणसमेत नियमित गर्न नसक्ने आयोजनाको शेयर निरन्तर ‘बुलिस’ हुने गरेको अवस्थाबारे विद्युत् नियमन आयोगले नियमन गर्दै आएको छ । जलविद्युत् कम्पनीका लगानीकर्ताले आपसी मिलेमतो गर्ने र आफैं किन्ने तथा सोही समूहका व्यक्तिले अर्काे ब्रोकरबाट खरीद गर्दा सर्वसाधारण लगानीकर्ता मारमा पर्ने गरेको गुनासोबारे आयोगका प्रवक्ता डा रामप्रसाद धितालले कानून अनुसार नियमन भएको दाबी गरे । उनले विद्युत् नियमन आयोग ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम कारबाई प्रक्रिया अगाडि बढाउने बताए । उनले बजारको वास्तविकता बुझेर मात्र शेयर खरीद तथा बिक्री गर्न सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे ।