प्रस, वीरगंज, २९ साउन/

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले घण्टाघरस्थित विपी उद्यानमा अन्य प्रयोजनका कुनै काम नगर्न, नगराउन वीरगंज महानगरपालिकालगायतका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

विपी उद्यान बनाउनका लागि वीरगंज महानगरपालिकाले खरीद गरेको करीब १० बिघा जग्गामा वीमनपाले सवारी पार्किङस्थल बनाउन ठेक्का दिएपछि सो कार्य रोक्न वीरगंज महानगरपालिका–२ हरपतगंज निवासी धीरज गुप्ताले उच्च अदालतको अस्थायी इजलास वीरगंजमा उत्प्रेषण परमादेश मुद्दा दिएका थिए ।

आज दुवै पक्षको बहसपछि न्यायाधीश कृष्णप्रसाद थापा र जनक पाण्डेको संयुक्त इजलासले विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा विपी उद्यानबाहेक सो जग्गामा अन्य कुनै काम नगर्न भनिएको छ ।

यसअघि, यसै मुद्दामा उच्च अदालतका न्यायाधीश शान्ता सेढाईं सापकोटाको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको थियो । निवेदक गुप्ताको तर्फबाट वरिष्ठ अधिवक्ताहरू देवेन्द्रलाल नेपाली, दिनेश त्रिपाठी, अधिवक्ताहरू रामनारायणप्रसाद कुर्मी, पन्नालाल गुप्ता र शैलेन्द्र चौरसिया तथा विपक्षी महानगरपालिकालगायतका तर्फबाट अधिवक्ताहरू कमलमोहन पोखरेल, विनय सिंह र सालिकराम प्रसादले बहस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here