प्रस, वीरगंज, २९ साउन/

डिभिजन वन कार्यालय, पर्सामा आठ महीनादेखि प्रमुख नहुँदा वनसम्बन्धी मुद्दाको सुनवाइ हुन सकेको छैन ।

डिभिजन वन कार्यालय, पर्सामा २०७७ पुस १ गतेदेखि प्रमुख छैन । निमित्त प्रमुखमा सहायक वन अधिकृत फरमान मियाँले कार्यालय सञ्चालन गर्दै आएका छन् । वनसम्बन्धी मुद्दाको फछ्र्योटका लागि कार्यालय प्रमुख आवश्यक हुने र निजको अभावमा आठ महीनादेखि वनसम्बन्धी मुद्दाको सुनवाइ हुन नसकेको निमित्त प्रमुख मियाँले बताए ।

डिभिजन वन कार्यालय, पर्सामा अवैधरूपमा वन पैदावार ओसारपोसार मुद्दा ४५ वटा, वन्यजन्तुसम्बन्धी मुद्दा दुईवटा गरी ४७ वटा मुद्दा छन् । यसमा आव २०७६/७७ का १६ वटा मुद्दा र आव २०७७/७८ का ३१ वटा मुद्दा रहेको निमित्त प्रमुख मियाँले बताए ।

यसैबीच गत आव २०७७/७८ मा सालको काठ ५५६.१७ क्युफिट बरामद भएको बताए । यो अवधिमा ५७ वटा साइकल, एउटा टायरगाडा, चारवटा मोटरसाइकल, दुईवटा खुर्पा, दुईवटा गोरु, १२ बोरको बन्दुक एक थान, मोबाइल दुई थान, आरा तीनवटा, बन्चरो १० वटा, टर्चलाइट, डोरी एक/एक वटा, अचानो एउटा बरामद भएको उनले बताए ।

निमित्त प्रमुख मियाँले आव २०७६/७७ मा २१ जना पक्राउ परेका र १९ जना फरार रहेको बताए। यसैगरी, आव २०७७/७८ मा ४४ जना पक्राउ परेका र ५३ जना फरार रहेको उनले जानकारी गराए । हालसम्म कार्यालयमा ४७ वटा मुद्दा रहेकोमा ४४ वटा मुद्दामा प्रतिवादी तारिखमा रहेकामा २१ जनाले तारिख तोडी बसेको, ७२ जना फरार रहेको उनले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here