प्रस, गरुडा, २८ साउन/
रौतहट र सर्लाहीको बीचमा रहेको बागमती नदीस्थित समनपुरघाटमा पुल निर्माणको काम लगभग सम्पन्न भएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेपछि स्थानीयलाई आवागमन गर्न केही सजिलो भएको छ ।
नदीको पूर्वपट्टि सर्लाहीको ठूलो बजार बरहथवा र पश्चिमट्टि रौतहटको ऐतिहासिक बजार समनपुर रहेका छन् । वर्षा महिनामा डुंगामा आवागमन गर्नुपर्ने हुन्थ्यो तर यस वर्षदेखि पुलबाट नै सर्वसाधारणले आवागमन गर्न पाएको स्थानीय चन्देश्वर साहको भनाइ छ ।
दुई जिल्लालाई जोड्ने पुल करिब बनिसकेको छ तर केही काम बाँकी रहेको छ । पुलको दुवैतिर माटो पुरेर पुलमा चढ्ने बाटो निर्माण गर्न बाँकी छ । पुलमा चढ्ने ट्रयाक निर्माण भइसकेकोले पैदल, साइकल तथा मोटरसाइकल चढ्न त्यत्ति गाह्रो नरहेकोले दुई जिल्लाका स्थानीयबासी सजिलै आवागमन गरिरहेको साहको भनाइ छ ।
बागमती नदीमा पुल बनिसकेपछि हरेक वर्ष डुंगा चलाउन लगाइँदै आएको ठेक्का यस वर्ष हुन नसकेको गढीमाई नगरपालिकाका लेखापाल कामेश्वर सहनीको भनाइ छ । डुंगा चलाउने ठेक्का हरेक वर्ष करिब साढे तीन लाख रूपैयामा हुँदै आएको सहनीको भनाइ छ ।
समनपुर तथा टोकारका अधिकांश किसानको खेत बागमती नदीभन्दा पूर्वतिर रहेको छ । हरेक दिन वस्तुभाउ चराउन तथा घाँस लिन र खेतीपाती गर्न अधिकांश किसान वर्षाको समयमा डुंगाको सहारा लिनु पर्दथ्यो तर पुल निर्माण भएपछि सोझै आवागमन हुन थालेको छ ।
स्थानीय सिकेन्द्र साहले दैनिक डेढ सयदेखि दुई सय मोटरसाइकल पुल भएर ओहोरदोहोर गरिरहेको बताउँछन् । पुल बनेपछि एकातिर बाढीको कुनै डर नभएको र अर्कोतिर समयको बचत भएको साहको भनाइ छ । एकाबिहानैदेखि राति अबेरसम्म सर्वसाधारण निर्बाध आवागमन गरिरहेको साहको भनाइ रहेको छ ।
पुल पूर्ण सञ्चालनमा आउन अझै केही समस्या रहेको छ । रोतहटतिर गढीमाई नगरपालिकाले पुलसम्मै पुग्ने बाटो निर्माण गरिसकेको छ तर सर्लाहीतिर भने अझै पुलसम्म आउने बाटो निर्माण हुन नसकेकोले सञ्चालनमा पुल सञ्चालनमा आउन केही समस्या आउने स्थानीयको विश्वास रहेको छ ।
पुल राम्ररी सञ्चालनमा आइसकेपछि सर्लाहीको बरहथवा र रौतहटको समनपुरको आर्थिक विकासमा निकै टेवा पुग्ने विश्वास गरिएको छ ।
यसअघि गढीमाई नगरपालिकाकै धर्मपुरमा पनि बागमती नदीमा पुल निर्माण भई सञ्चालनमा आइसकेको छ । रौतहटतिर पुलसम्म पुग्ने पक्की सडक निर्माण भइसकेको भए पनि सर्लाहीको धनकौल गाउँपालिकाले भने सडक निर्माणमा खासै चासो नदेखाउँदा वर्षामा सर्लाहीतिर समस्या हुने गरेको छ ।
समनपुर–बरहथवा पुल पनि निर्माण भएर सञ्चालनमा आइसकेपछि सर्लाहीतिरको सडक निर्माण छिट्टै हुने आशा स्थानीयबासीको रहेको छ ।