प्रस, रौतहट, २८ साउन/
कटहरिया नगरपालिकामा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरको उद्घाटन भएको छ ।
बिहीवार कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकामा निर्मित स्वास्थ्य चौकीको निवर्तमान प्रदेशसभा सदस्य कुन्दन कुशवाहा र नगरप्रमुख सियाराम कुशवाहाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
राष्ट्रिय अपाङ्ग कल्याण सङ्घ, नेपालको पहलमा कटहरिया नगरपालिका तथा छाया नेपालको सहकार्यमा रु ४९ लाखको लागतमा स्वास्थ्य भवन निर्माण भएको राष्ट्रिय अपाङ्ग कल्याण सङ्घ रौतहटका अध्यक्ष राजेश साहले बताए ।
सो अवसरमा निवर्तमान प्रदेशसभा सदस्य कुशवाहाले स्वास्थ्य क्षेत्रमा कटहरिया नपाले राम्रो काम गरेको भनी प्रशंसा गरे । उनले केही व्यक्तिले नगरपालिकालाई अनाहकमा बदनाम गरिरहेको आरोप लगाए । उनले नपाले ठेक्काबाट गराएको काममा ठेकेदारको चरम लापरवाही हुने गरेको आरोप लगाए ।
लागत रकमभन्दा ७० प्रतिशतसम्म घटेर काम सकार गर्ने र सो कामलाई सम्पन्न नगर्ने कारणले विकास निर्माणले गति लिन नसकेको उनको भनाइ थियो ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम गरिरहेको उनले बताए । तीनजना एमबिबिएस चिकित्सक राखेर स्वास्थ्य सेवा दिइरहेको बताए ।
सो अवसरमा छाया नेपालले साढे तीन लाख मूल्यको स्वास्थ्य सामग्री नगरप्रमुख कुशवाहालाई हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा वडाध्यक्ष चन्दन कुशवाहा, राजकुमार साह, हरिन्द्र साह, मनोज साह, वडासचिव नन्दलाल साह, छाया नेपालका कार्यकारी निर्देशक कमल थापा, राष्ट्रिय अपाङ्ग कल्याण सङ्घका अध्यक्ष ललन चौरसियालगायतको सहभागिता थियो ।