प्रस, जनकपुरधाम, २८ साउन/

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेशलाई जनसङ्ख्याको अनुपातमा कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् । उनले केन्द्रीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रसँग सो माग गरेका हुन् ।

सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वको टोलीसहित मुजेलिया स्थित ग्रामीण प्रशिक्षण केन्द्रमा बिहीवार बसेका सिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले सो माग गरेका हुन् ।

सबैभन्दा बढी जनघनत्व एवं भारतसँगको खुला सीमाका कारण कोरोना महामारीको अति जोखिममा रहेका प्रदेश २ लाई जनसङ्ख्याको अनुपातमा खोप उपलब्ध हुन नसकेको उनले गुनासो गरे । विगतमा केन्द्रीय नेतृत्वलाई कोरोना महामारीको जोखिम बारे बुझ्न प्रदेश २ को स्थलगत अनुगमनका लागी आग्रह गरे अनुसार शर्मा नेतृत्वको टोली प्रदेशमै आएर छलफल गरेको हो ।

बैठकमा सिसिएमसी सचिवालयका प्रमुख बालानन्द शर्माले महामारीको सम्भावित तेस्रो लहर तथा निकट भविष्यमा हुने स्मार्ट लकडाउनको विधिबारे जानकारी गराएका थिए ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेशको कोभिड–१९ को अवस्था एवं धनुषाका प्रमुख जिल्ला अधिकारीले धनुषाको अवस्था बारे बताएका थिए ।

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह, प्रमुख सचिव गोकर्णमणि दुवाडी, महान्यायाधिवक्ता दिपेन्द्र झा, जनकपुरधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here