शिमला, भारत २८ साउन/एएफपी
हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पहिरोमा अरू कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ ।
कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस नै पहिरोमा पुरिएको भारत–तिब्बत सीमा सुरक्षा (आइटिबिपी)ले आशङ्का गरेको छ । “घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइतेलाई उद्धार गरिएको छ”– आइटिबिपीले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हिमाञ्चल प्रदेशमा पहिरोले पुरेको गाडी निकाल्न भारत–तिब्बत सीमा सुरक्षाका लागि खटेका प्रहरी उद्धारकार्यमा परिचालित भएका छन् ।
हिमाञ्चल प्रदेशको किन्नौर जिल्ला अन्तर्गत सो घटनास्थलमा अझै ढुङ्गा खसिरहेको तिब्बत सिमानामा कार्यरत एकजना स्थानीय प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् ।
टेलिभिजन च्यानलले एउटा ट्रक र कारको चित्र भग्नावशेषमा आधा गडेको, बाटोमा चट्टान रहेको र रूखको टुक्रा देखाएको छ । रासस