संयुक्त राष्ट्रसङ्घ, २८ साउन/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही हप्ता यता, अफगानिस्तानमा जारी रहेको हिंसाका कारण, दशौं हजार नागरिक भागेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा तालिबानीले हिंसा शुरू गरेको जनाएको छ । अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचारहरू आएसँगै तालिबानीले यहाँका विभिन्न शहरमा कब्जा जमाउन थालेको समाचार बाहिर आइरहेका छन् ।

जसका कारण यहाँ प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगानी र तालिबानी सेनाको चेपुवामा परेकोले उनीहरू भाग्न बाध्य भएका छन् । यो वर्षमात्र हिंसामा परेर करीब चार लाख नागरिक विस्थापित भई देशभित्रै आन्तरिक शरणार्थीका रूपमा बस्न बाध्य भएका छन् ।

अहिले यहाँका विस्थापित नागरिकहरू आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् । यहाँ कतिपय सहायता एजेन्सीले उनीहरूलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएको छ । दिनहुँ ठूलो सङ्ख्यामा विस्थापित भएकाहरू विभिन्न शहरमा पुगेकाले व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि यहाँको सरकारी सेना र तालिबानीबीच भीषण सङ्घर्ष जारी रहेको बताइएको छ । यस सङ्घर्षमा परी सयौं नागरिकको ज्यान पनि गएको छ भने कैयौं घाइते भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here