प्रस, जीतपुर, २८ साउन/

आन्तरिक राजस्व कार्यालय, सिमराले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। प्राप्त विवरण अनुसार वार्षिक राजस्व सङ्कलन गर्ने लक्ष्य रु १२ अर्ब ५३ करोड ३७ लाख ५५ हजार भएकोमा करीब ७५ करोड बढी राजस्व सङ्कलन भएको छ ।

यो लक्ष्यको १०६ प्रतिशत भएको आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

प्राप्त विवरण अनुसार आयकरतर्फ रु १ अर्ब २२ करोड ३६ लाख २१ हजार, घरबहाल कर रु ३ करोड ७० लाख ४३ हजार, ब्याज रु ३ करोड ८० लाख ६६ हजार, मूल्य अभिवृद्धि कर रु १ अर्ब २६ करोड ५८ लाख ८ हजार, अन्तःशुल्कतर्फ रु ७ अर्ब ९२ करोड ३१ लाख ९८ हजार, स्वास्थ्य सेवा रु २ अर्ब ७९ करोड ३७ लाख ४७ हजार, शिक्षा सेवा कर रु ९२ हजार सङ्कलन भएको हो।

अहिले शिक्षा सेवा शुल्क कर खारेज गरिएको प्रमुख कर अधिकृत भण्डारीले बताए ।

सो कार्यालयको कार्य क्षेत्र बारा र रौतहट जिल्लामा व्यक्तिगत स्थायी लेखा नम्बर करदाता ५७ हजार २१५ र आयकर करदाता सङ्ख्या ४६ हजार ८२४ छ । जसमध्ये सबैभन्दा बढी कर तिर्ने १० करदाताहरूमा क्रमशः सूर्य नेपाल, जगदम्बा स्टिल, डाबर नेपाल, नारायणी इस्पात प्रालि, अशोक स्टिल, हामा आइरन, पतञ्जलि नेपाल, समता लघुवित्त संस्था, केएनपी नेपाल, साखः स्टिल प्रालि छन् ।

प्रमुख कर अधिकृत भण्डारीले मुलुकको आम्दानीको स्रोत तथा विकासको मूल आधार कर भएको बताए । उनले व्यापारीले आफ्नो कारोबार तथा आय बमोजिम समयमा कर बुझाउनुपर्ने दायित्व रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here