प्रस, वीरगंज, २७ साउन/

जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले छिमेकी जिल्ला बारामा सबैखाले विद्यालय सञ्चालन भइसक्दा पनि पर्सा जिल्लामा विद्यालय सञ्चालनको विषयमा मौन देखिएपछि वीरगंज महानगरपालिकाले यही साउन ३१ गतेदेखि महानगरका सामुदायिक र संस्थागत विद्यालय भौतिकरूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बुधवार महानगरको सभाकक्षमा सरोकारवालाहरूसँगको छलफलपछि नगरप्रमुख विजयकुमार सरावगीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मन्त्रालयको २०७७ सालको निर्देशन अनुसार महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालय सञ्चालन गर्न लागेको बताए । उनले पहिलो चरणमा साउन ३१ गतेदेखि कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई भौतिक सहभागिता गराइ विद्यालय सञ्चालन गराउने र त्यसपछि क्रमशः अन्य कक्षाहरू पनि सञ्चालन गर्ने बताए ।

वीरगंज महानगरपालिकाले यस वर्षको शैक्षिक क्षेत्र असार १ गतेदेखि नै महानगरका सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको थियो तर जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्ने सम्बन्धमा कुनै निर्णय नगरेपछि महानगरका विद्यालयहरू सञ्चालन हुन सकेनन् ।

समितिमा सदस्यसमेत रहेका नगरप्रमुख सरावगीले पटक–पटक समितिमा विद्यालय सञ्चालनको लागि आग्रह गर्दा प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले मन्त्रिपरिषद्को निर्णयबाट मात्र विद्यालय सञ्चालनसम्बन्धी निर्णय हुने भनेर भौतिकरूपमा विद्यालय सञ्चालन गर्न रोक लगाएका थिए ।

यसैबीच, आज महानगरपालिकाले नेपाल शिक्षक महासङ्घ, प्याब्सन, एन–प्याब्सन, सामुदायिक, संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा विद्यालय सञ्चालनसम्बन्धी बैठक गरेर साउन ३१ गतेदेखि कक्षा ८–१२ भौतिकरूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा नगरप्रमुख सरावगी, नेकपा माओवादीका रहबर अन्सारी, नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष तीर्थराज यादव, महानगर अध्यक्ष विनोद मेहता, प्याब्सन पर्साका सचिव छेडुप लामा, महानगर अध्यक्ष विवेक चौरसिया, एन–प्याब्सन पर्साका अध्यक्ष रामसुन्दर चौधरी, महानगर शिक्षा शाखा प्रमुख अरविन्द कर्ण, स्वास्थ्य शाखा प्रमुख अरुण महतो, महानगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअ, शिक्षक, नेपाल पत्रकार महासङ्घका सदस्य केसी लामिछानेलगायतको सहभागिता थियो ।

महानगरले यसअघि र आज विद्यालय सञ्चालनसम्बन्धी निर्णय गरे पनि निर्णयअगावै नै महानगरका संस्थागत विद्यालयहरू सञ्चालनमा छन् । असारको दोस्रो सातादेखि महानगरका केही संस्थागत विद्यालय सञ्चालनमा आएका हुन् भने साउनको दोस्रो सातादेखि विनापोशाक सबै निजी विद्यालय भौतिकरूपमा सञ्चालनमा आइसकेका छन् ।

तर जिल्लाभरिका सामुदायिक विद्यालय भने अहिलेसम्म सञ्चालनमा आएका छैनन् । जिल्लामा अन्य गापा, नपाका केही संस्थागत विद्यालय पनि सञ्चालन भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here