प्रस, सप्तरी, २७ साउन/
सप्तरीको सुरुङ्गा नगरपालिका–७ पोखरियाकी ज्योति पासवानको मृत्यु प्रकरणमा उनको प्रेमी तानिएका छन् । पासवानको प्रेमी कृष्ण मिश्रविरुद्ध प्रहरीमा उजूरीसमेत दर्ता भएको छ ।
ज्योतिका पिता प्रमोदले मिश्रविरुद्ध आत्महत्या दुरुत्साहन ज्यानसम्बन्धी शीर्षकमा इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ता गराएका हुन् । मृतक युवतीका प्रेमीविरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
कृष्णले ललाइफकाइ ज्योतिलाई लिएर गएको र यौन शोषण गरी छाडेपछि छोरीले आत्महत्या गरेको मृतक ज्योतिका बुबा प्रमोदले दिएको जाहेरीमा उल्लेख छ ।
स्थानीय कृष्णले बितेको फागुन १० गते पत्नी बनाउने भन्दै ज्योतिलाई लिएर गएका थिए । तर घर पुगेपछि कृष्णका बुबाले उक्त विवाह आफ्नोलागि स्वीकार्य नरहेको भन्दै कुनै सम्पत्ति नदिने कागजमा सहीछाप गराएका थिए ।
कृष्णले ज्योतिलाई पाँच महीनासम्म पत्नी बनाएर सँगै लजमा राखेका थिए । कृष्ण असारको पहिलो साता कोठा खोज्न जाँदैछु भनी लहानतर्फ लागेको एक सातासम्म नफर्केपछि सो कुरा थाहा पाएर ज्योतिका बुबाले उनलाई माइतीघर लिएर गएका थिए । ज्योतिले माइतीघरमा साउन २३ गते आत्महत्या गरेकी हुन् ।
माइत लगेर राख्दा पनि कृष्णाले वास्ता नगरेको र फर्केर नआएको हुँदा ज्योति सधैं तड्पिरहने र मानसिकरूपमा विक्षिप्त जस्तै बनिसकेको उनका आफन्तजनहरूले बताएका छन् ।