प्रस, वीरगंज, २७ साउन/
पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले भ्रष्टाचार गरेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् । पालिकामा व्यापक अनियमितता भएको भन्दै सयौं युवाले बुधवार बिहान प्रदर्शन गरेका हुन् ।
पकाहामैनपुर गाउँँपालिकाको वडा नं १ देखि ५ सम्मका युवाले पकाहामैनपुर चोकबाट मोटरसाइकल ¥याली निकाली भ्रष्टाचार बन्द गर, भान्जाको नियुक्ति खारेज गर, उपभोक्ता समिति पारदर्शी बनाऊ नारा लेखिएका प्लेकार्डसहित गाउँपालिका परिक्रमा गरी गापा कार्यालयअगाडि कोणसभा गरेका थिए ।
कोणसभामा नेकपा एमालेका गापा संयोजक अकलेश साह, नेविसङ्घका राकेश कुशवाहा र जसपाका युवा नेता नवलकिशोर पटेललगायतले मन्तव्य राखेका थिए ।
कोणसभापछि युवाहरूले गापा अध्यक्ष चौरसियालाई १५ बुँदे ज्ञापनपत्र बुझाएका थिए । सो क्रममा कर्मचारी र युवाहरूबीच भनाभन हुँदा सामान्य झडप भएको थियो तर जनपद र सशस्त्र प्रहरीले स्थितिलाई साम्य पारेका थिए ।
ज्ञापनपत्रमा लामो समयदेखि गापाका जनप्रतिनिधि र कर्मचारीहरूले काम नै नगरी बजेट पचाएको, गुणस्तरहीन विकास गरेको, जनताको काम र गुनासो सम्बोधन गर्न जनप्रतिनिधिले बेवास्ता गरेकोलगायतका गुनासाहरू बढेपछि विरोध प्रदर्शन गरिएको अकलेश साहले बताए ।
गापाका जनप्रतिनिधिले गत आवदेखि कर्मचारीको मिलेमतोमा नीतिगत भ्रष्टाचार गरेको तथ्य फेला परेपछि ज्ञापनपत्रमार्फत पालिकामा भएका विकृतिहरू उजागर गरिएको सञ्जालका नवलकिशोर पटेलले बताए ।