बलिराम शुक्ला, बिरुवागुठी, २७ साउन/
पर्सागढी नगरपालिका–३ बडनिहार बजार र सिर्जना टोलबीचमा निर्माण हुने आमोदेवी मानव सेवा तथा वृद्धाश्रमको जग्गामा बुधवार सरसफाइ भएको छ ।
कित्ता नं १ को करीब १७ कट्ठा सार्वजनिक जग्गामा आश्रम निर्माण हुनेछ । सोको लागि आज जेसिबीसमेतको प्रयोग गरी स्थानीयहरूको सहभागितामा सरसफाइ भएको थियो । वृद्धाश्रम निर्माणको लागि यसअघि गत पुसमा श्रीमद्भागवत ज्ञान महायज्ञ लगाइएको थियो । जसबाट रु ३२ लाख भवन निर्माणको लागि सङ्कलन भएको थियो ।
आमोदेवी मानव सेवा तथा वृद्धाश्रम समितिका अध्यक्ष अशोक बुर्लाकोटीले महायज्ञबाट जम्मा भएको रु ३२ लाखबाट वृद्धाश्रमको भवन निर्माण कार्य छिट्टै शुरू गरिने बताए । उनले आश्रम निर्माणमा अपुग रकम स्थानीय सरकार, प्रदेश सरकार र सर्वसाधारणसँग सहयोग लिने बताए।