धरान, २७ साउन/रासस
जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्केको एउटा शिशुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मेका सिद्धेश्वर गाउँँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
शिशुलाई एक महीनासम्म एनआइसियूमा राखेर प्रतिष्ठानका डा राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्केको आन्द्रा र कलेजो मिलाएको थियो । बाह्र हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा साहले बताए । “विभिन्न कारणले जन्मनुभन्दा अगाडि पेट राम्ररी नबनेको बच्चा जन्मँदा यस्तो समस्या आउने गर्छ ।
यसलाई ग्यास्ट्रोजचेसिज भनिन्छ” –उनले भने । शिशुको नाइटोबाट पूरै आन्द्रा बाहिर निस्केकोमा १५ दिनसम्म प्लास्टिकको ब्यागमा हालेर एनआइसियूमा राखी शल्यक्रिया गरिएको थियो । जन्मँदा नानीको स्वरूप नै बिग्रेको थियो । शल्यक्रियापछि राम्रो भएको शिशुका बुबा नवराज परियारले बताए । शल्यक्रियापछि घाउ पाकेकोले आज चिकित्सकको सल्लाह अनुसार ‘फलोअप’ मा राखिएको छ ।
पाँच वर्षअघि डा राजेश यस प्रतिष्ठानमा आएपछि यस्ता जटिल प्रकृतिका बच्चाको उपचार सहज र सुलभ हुँदै आएको छ । यसअघि भारत तथा काठमाडौंका महँगा अस्पतालमा यस्ता बिरामीको उपचार गराउँदा लाखौं खर्च हुने गथ्र्याे तर प्रतिष्ठानले भने शल्यक्रिया शुल्क १३ हजार मात्र लिंदै आएको छ । औषधि तथा अन्य सबै गरेर रु ५० हजारमा उपचार हुँदै आएको छ ।