काठमाडौं, २७ साउन/रासस

मनसुनी वायुका कारण बुधवार देशको केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजीक आइपुगेकोले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताइन् ।

अबको दुई/तीन दिनसम्म देशमा मनसुन सक्रिय हुने भएकोले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने र एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको उनको भनाइ थियो । वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा समेत असर पर्न सक्ने हुँदा सतर्क रहन आग्रह गरिएकोे छ ।

आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुर्ई स्थानमा मेघगर्जनसहित भारी वर्षा भएको बताइएको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५.२ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here