राधेश्याम पटेल, परवानीपुर, २५ साउन/
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजको सेवा क्षेत्र पर्ने बारा, विश्रामपुर गापा–३ मुसहर्वा गाउँँमा आर्थिक चलखेलमा निजी खेत बचाउन विद्युत् संरचना अन्तै सारिएको घटना सार्वजनिक भएको छ । सो वडाका वडा अध्यक्ष शिवचन्द्र यादव, विद्युत् कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतोमा नियम विपरीत काम भएको गाउँँलेहरूले बताएका छन् ।
वडा अध्यक्ष शिवचन्द्र यादवको काका पर्ने किशोरी यादव र गया कलवारको करीब एक बिघा जग्गाबाट विद्युत् पोल हटाउन उक्त संरचना सार्ने काम भइरहेको हो । उनीहरूको खेत भएर गएको विद्युत् लाइन हटाएर मुसहर्वा वडा नं ३ वडा कार्यालय हुँदैं वडा नं ४ पस्ने कलभर्टसम्म विद्युत् लाइन सार्ने काम भइरहेको हो ।
निजी खेतबाट करीब ८ वटा विद्युत् पोल हटाएर सडक छेउ भएर लैजान खोजिएको थियो । तर गाउँँलेको विरोधको कारण गत शुक्रवार उक्त कार्यमा अवरोध सृजना भएको छ । वितरण केन्द्र प्रमुख शम्भु कुशियत राय यादवले थाहा पाएपछि कर्मचारी र वडा अध्यक्षसँग मौखिक स्पष्टीकरण सोधेका थिए ।
प्राधिकरणको स्वीकृतिबेगर कुनै पनि विद्युत् लाइन अन्त सार्ने प्रावधान नरहेकोले उनले पुरानै अवस्थामा विद्युत् पोल गाड्न र लाइन चालू गर्न निर्देशन दिएका थिए । त्यसपछि शुक्रवार सडक छेउबाट दुर्ईवटा पोल उखेलेर काम शुरू गरेका थिए ।
यस विषयमा वडा अध्यक्ष यादवसँग बुझ्दा उनले गाउँँलेको भलाईको लागि विद्युत् कर्मचारी र बारा त्रिवेणीको मण्डलजी भनिने ठेकेदारबाट उक्त काम गराउन खोजेको स्वीकार गरे । तर पछि विद्युत्का हाकिम साहेबको कुरा सुनेर काम रोकेको बताए ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख शम्भु कुशियत राय यादवसँग सोध्दा उनले यो कार्यमा आफ्नो संलग्नता नभएको बताए । उनले नयाँ लाइन तान्ने काम भइरहेको मलाई जानकारी पाएको बताउँदै, पुरानो संरचना सार्ने काम भइरहेको थाहा पाएपछि छानबीन गरिरहेको बताए ।
ठेकेदार र वडा अध्यक्षलाई कार्यालयमा बोलाएर स्पष्टीकरण सोध्ने उनले बताए । गाउँँलेहरूले विद्युत् लाइन सार्न लाखौं रुपियाँको चलखेल भएको अशङ्का गरेका छन् ।
वितरण प्रमुख र वडा अध्यक्षले रकम लेनदेन नभएको दाबी गरेका छन् । वितरण केन्द्रमा पुरानो विद्युत् पोल सार्न थुप्रै निवेदन पर्दा पनि स्वीकृतिको झन्झटिलो प्रावधान रहेकोले सयौं ठाउँको संरचना नसारिएको तर पैसाको चलखेलमा रातारात पुराना संरचना मुसहर्वामा सारिएको पाइएको छ ।