प्रस, वीरगंज, २६ साउन/
प्रदेश सरकारको बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गत मङ्गलवार बारा जिल्लाको कोल्हवी नगरपालिकामा ४३ जना छात्रालाई साइकल वितरण गरिएको छ ।
कोल्हवी नगरपालिका–६ स्थित जनता मावि ककडी प्रसौनामा अध्ययनरत ४३ जना छात्रालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले साइकल वितरण गरेका थिए ।
उनले प्रदेश सरकारको यो कार्यक्रम छोरी पढाउने सवालमा निकै प्रभावकारी रहेको दाबी गरे । उनले छोरीहरूलाई अगाडि बढाउन प्रदेश सरकारले विभिन्न खाले योजना अगाडि सारेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरनदेव चौधरी, सदस्यहरू रामावतीदेवी चौधरी, देवरानीदेवी साह, नन्दकिशोर चौधरी, पलट चौधरी, उपस्वास्थ्य चौकी प्रमुख मोहन चौधरी, विद्यालयका निमित्त प्रधानाध्यापक गुरुप्रसाद चौधरीलगायतको सहभागिता थियो ।
कार्यक्रममा रमाकान्त चौधरीले स्वागत र राधा चौधरीले सहजीकरण गरेकी थिइन् ।