काबुल, २६ साउन/सिन्हवा
पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानीले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्त कब्जा गरिरहेको बताएका छन् । उनीहरूका अनुसार हालसम्म तालिबानीले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ ।
उनीहरूले कब्जा गरेकामध्ये कुन्दुज पनि एक हो । यो सफलतालाई अफगानिस्तानका तालिबानीले निकै महŒवपूर्ण भनेका छन् । अफगानिस्तानमा पछिल्लो समयमा बिग्रँदो अवस्थाबीच युद्धविरामका लागि पनि केही अन्तरराष्ट्रिय अपिल भएकोमा त्यसलाई तालिबानी विद्रोहीले अस्वीकार गरेका छन् ।
तालिबानीले पछिल्लो समय अफगानिस्तानमा एकपछि अर्काे मुख्य शहर कब्जा जमाइरहेकाले पनि यो अपिल अब आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् । पछिल्ला दिनमा तालिबानीले अफगानिस्तानमा हमला बढाएका छन् । यसबीच अमेरिकी र अफगानी विमानले विद्रोहीमाथि कैयौं हवाई हमला गरेका छन् । अफगान अधिकारीले यी हमलामा कैयौं मानिसको ज्यान गएको बताएका छन् ।
तालिबानीले अमेरिकालाई अफगानिस्तानमा थप कारबाई नगर्न चेतावनी दिएका छन् । उत्तरी अफगानिस्तानका तीन शहरमाथि मात्र केही घण्टामा तालिबानीले कब्जा जमाएको खबर बाहिर आएपछि अमेरिकी सेनाले हवाई हमला गरेको थियो ।
कुन्दुजको स्थिति निकै अशान्त रहेको बताइएको छ । सामाजिक सञ्जालमा तालिबानी लडाकू कुन्दुज र सर–ए–पुलको सरकारी भवनमा प्रवेश गरेको बताइएको छ ।
अफगान सरकारी सुरक्षा बलले अझै पनि कुन्दुजमा तालिबानीसँग सङ्घर्ष गरिरहेको पाइएको छ। तालिबानी अधिकारीहरूले बागलान प्रान्तको राजधानी पुल–ए–खुमरीलाई निशाना बनाउने तयारी गरेको जानकारी दिएका छन् । रासस