प्रस, सिराहा, २६ साउन/
लामो समयदेखि कर नबुझाएका करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कारबाई प्रक्रिया शुरू गरेको छ ।
दर्ता भएदेखि कर नबुझाएका विभिन्न ४० वटा फर्म तथा करदातामाथि कानूनी कारबाई शुरू गरिएको हो । कारबाईस्वरूप बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कर कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिए । मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानूनी कारबाई प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ ।
यसैबीच, उक्त कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ । सगरमाथा अञ्चलको छवटा जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले आव २०७७/७८ मा रु तीन अर्ब छ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा करीब १०८ प्रतिशत अर्थात् रु तीन अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको प्रमुख खतिवडाले बताए ।
यसरी सङ्कलित करमध्ये आयकरतर्फ रु एक अर्ब ६३ करोड, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब आठ करोड र अन्तःशुल्कतर्फ रु ५९ करोड आठ लाख राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो १७ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।
अघिल्लो आव २०७६/७७ मा रु दुर्ई अर्ब ८१ करोड राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८४२ व्यवसायी र २० हजार ८४४ व्यक्तिगत नयाँ प्यान दर्ता भएको छ ।