राधेश्याम पटेल, परवानीपुर, २५ साउन/
वीरगंज–२८ बगही–इनर्वा सडकखण्डबीचको कल्भर्ट तीन महीनामा पनि निर्माण हुन सकेको छैन ।
तीन महीनाअघि ढुङ्गा बोकेको टिपर उक्त कल्भर्ट भएर गएपछि भासिएको थियो । सोबेला वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले उक्त कल्भर्टको निरीक्षण गरी एक साताभित्र निर्माण शुरू गर्ने गाउँलेहरूलाई आश्वासन दिएका थिए । तर कल्भर्टको काम पूरा नहँुदा सो भेगका आधा दर्जन गाउँका बासिन्दालाई समस्या भइरहेको बताइएको छ ।
बगहीभन्दा उत्तर र पश्चिममा पर्ने इनर्वा, दारदारवा, रतनपुर, हरदासपुरलगायत गाउँका बासिन्दालाई समस्या भइरहेको गाउँलेहरूले बताएका छन् । गाउँलेहरूले सो कल्भर्टको निर्माण यथाशीघ्र पूरा गरी सो भेगको आवागमन सहज बनाउन वडाध्यक्ष गिरजादेवी कुर्मिन र नगरप्रमुख सरावगीसँग माग गरेका छन् ।
यस विषयमा नगरप्रमुख सरावगीसँग बुझ्दा उनले निरीक्षण गरेको केही दिनमैं ठेकेदार नुरैन अन्सारीले काम गरिरहेको तर पछि उनले काम छोडेपछि अर्को ठेकेदारबाट काम गर्नुपर्ने भएकोले काममा ढिलाइ भइरहेको बताए । उनले नयाँ ठेकेदारले चाँडै काम सम्पन्न गराउने आश्वासन दिए ।