सप्तरी, २५ साउन/रासस
सप्तरी जिल्लाको झन्डै मध्यमा रहेको राजविराज बजारको मुख्य स्थान गजेन्द्र चोकमा साढे एक महीनादेखि एउटा टेबुल लाग्ने गरेको छ । ब्यानरले छोपेको टेबुल वरिपरि कुर्सी र बेन्चमा केही महिला र पुरुष बसेका छन् भने कोही उभिएका छन् । टेबुलमा एउटा कार्टुनमा ‘हुनेले दिएर जाऔं, नहुनेले मास्क लगाएर जाऔं’ लेखिएको छ । कार्टुनसँगै छेउमा सेनिटाइजरको बोतल र दुईवटा बट्टा सजाएर राखिएका छन् । एउटा बट्टामा ठूला मानिसले र अर्काे बट्टामा साना बालबालिकाले लगाउने आकारका मास्क छन् । मास्क नहुने आउँछन् र बट्टाबाट एउटा मास्क निकालेर लगाउँछन् । कतिपयले अभियानको प्रशंसा गर्दै मास्कको पोका वा पैसा नै दिएर जान्छन् ।
निषेधाज्ञा खुलेसँगै बजारमा भीडभाड बढेपछि केही गैरसरकारी संस्था मिलेर राजविराजमा मास्क बैंक स्थापना गरेका हुन् । मास्क नलगाएर बजार हिंड्नेको सङ्ख्या बढेपछि सचेतना अभिवृद्धिका साथै मास्क वितरण गर्ने उद्देश्यले मास्क बैंक स्थापना गरिएको हो । गत असार १० गतेदेखि शुरू भएको उक्त अभियान अन्तर्गत मास्क वितरण कार्य निरन्तर जारी छ ।
बजार निस्कँदा अनिवार्यरूपमा मास्क प्रयोग गर्ने वातावरण बनाउनका लागि पैदलयात्री, सवारीसाधनका यात्रीसँगै चालक र व्यवसायीलाई सचेत बनाउने उद्देश्यले दैनिकरूपमा ‘मास्क लगाएर जाऔं’ अभियान शुरू गरिएको समग्र जनउत्थान केन्द्रका सुषमा गुप्ताले बताए । “सबैलाई मास्क लगाएर हिंड्न आग्रह गर्छाैं, मास्कको अभाव भए लगाएर जान भन्छौं,” गुप्ता भन्छन्, “कोही मान्छन्, कोही मान्दैनन् । कसैले चिउँडोबाट मुखमा सार्छन् त कोही गोजीबाट हतपत निकालेर मुखमा लगाउँछन् ।”
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको गत असार ७ गतेको बैठकले कोरोनाको सङ्क्रमण दर घट्दो क्रममा रहेको ठहर गरेको थियो । सोही बैठकले सरकारी कार्यालय, सार्वजनिक संस्थानलगायतका कार्यालयले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै असार १३ गतेदेखि सबै कार्यालयलाई सेवा सञ्चालन गर्न सूचना जारी ग¥यो । सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएपछि कोरोनाको त्रास कम भयो । मानिस प्रशस्त मात्रामा सडकमा हिंड्न लागे। बिस्तारै मास्क लगाउन छाड्दै गए । स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा लापरवाही हुने सङ्केत देखा पर्नासाथ मास्क बैंक स्थापना गरिएको एकल महिला समूहको प्रदेश २ अध्यक्ष अनिता देवकोटाले जानकारी दिइन् ।
कोरोना सङ्क्रमण दर घट्दो क्रममा रहेको भनी खुला गरिएको निषेध आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुँदा अहिले पुनः सङ्क्रमण दर बढेको देवकोटाको भनाइ छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा पिसिआर मेशिन बिग्रिएकाले परीक्षण बन्द छ । एन्टिजेन परीक्षणको तथ्याङ्कले कोरोना सङ्क्रमण दिनदिनै बढ्दै गएको देखाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाइ स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गरी जिल्लाभरि लागू गरिएको निषेधाज्ञा अवधि थप गर्दै लगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । उनका अनुसार औषधोपचार एवं अत्यावश्यक कामबाहेक सकभर घरबाहिर ननिस्किन, निस्कनै पर्दा अनिवार्य मास्क लगाउन, समूहमा नहिंड्न, भौतिक दूरी कायम गर्न निर्देशन जारी गरिएको छ तर पनि मानिस बेवास्ता गरिरहेका छन् ।
सबैभन्दा बढी सडकमा विनाकाम हिंडिरहनेले लापरवाही गरिरहेका छन् । “मास्क लगाएर हिंड्न भन्दा लगाए पनि नलगाए पनि हाम्रो खुशी हो भन्दै हिंड्छन,” मास्क वितरण गरिरहेका इन्सेक प्रतिनिधि मनोहर पोखरेलले भने, “कोही त धन्यवाद फर्काउँछन्, कोही झर्कोफर्को मान्छन् ।” कतिपय ज्येष्ठ नागरिक र बालबालिका पैसा नभएकै कारण मास्क प्रयोग नगरेको बताउने गरेकाले निश्शुल्क मास्क प्रदान गर्न थालिएको उनले बताए । दैनिक पसिना बगाउने र कोरोनाविरुद्धको सुई लगाएकाले मास्कको आवश्यकता नभएको बताउने पनि भेटिन्छन् । मास्क लगाउने पैसाले चिया खानु जरुरी रहेको भन्ने पनि भेटिन्छन् । पोखरेलले भने, “उहाँहरूलाई ‘मास्क एक महŒव अनेक’ भनेर सम्झाइबुझाइ गर्ने गरेका छौं ।”
सार्वजनिक स्थान तथा बजारमा भीडभाड हुन नदिन सरकारको निर्देशन र घरबाहिर निस्कनुपर्दा अनिवार्य मास्क लगाएर मात्र निस्कनु भन्ने जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार नै राजविराजमा सचेतनामूलक मास्क वितरणको अभियानलाई निरन्तरता दिइएको महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीका प्रिया सिंह थारूले बताइन् ।
“मास्क वितरणका साथै जनतालाई सचेत गराउने उद्देश्यले अभियान थालेका हौं, ब्यानरमा पनि ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भनेर लेखेका छौं,” सामुदायिक सेवा केन्द्रकी उपाध्यक्ष ललिता कर्णले भनिन्, “कोही खुशी भएर मास्क किन्नका लागि पैसा दिएर जान्छन्, अधिकांशले निश्शुल्क लिएर जान्छन् ।” उनका अनुसार अभियानको उद्देश्य हरेक नागरिकले कोरोनाबाट बच्नका लागि सुरक्षा सतर्कता अपनाउनुपर्छ भन्ने बुझून् भन्ने हो ।
चोकमैं रहेका न्यू विशाल टेलर्सका सञ्चालक मोहम्मद परवानाका अनुसार बजार आएका कतिपय ग्राहकले मास्कसमेत लगाउँँदैनन् । दूरीमा बसेर कुरा गर्न आग्रह गर्दा “छिटो देऊ, गइहाल्छु,” भन्छन् । “न मास्क लगाउँछन्, न दूरी कायम गरेर बस्छन्, उल्टै नकराऊन् भन्छन् बरु अर्काे पसलमा जाने गरी धम्क्याउँछन्,” परवानाले भने, “सबैका लागि भनेको हो तर उनीहरू उपदेश नदेऊ आफ्नो काममा ध्यान देऊ भनेपछि चुप लागेर बस्छु ।”
कोरोना भाइरसबाट जोगिनका लागि उत्तम विकल्प सामाजिक दूरी कायम गरेर भेटघाट गर्ने र अनिवार्यरूपमा मास्क प्रयोग गर्ने भएकाले त्यसमा ध्यान दिन सबैलाई आयोजकले अनुरोध गर्ने गरेका छन् । कोरोनाविरुद्धको सचेतना अभियानलाई जिल्लाभरि नै चलाउनुपर्ने आवश्यकता रहेको महिला मानव अधिकार रक्षक सञ्जालका सचिव माधवी शाहले बताइन् । लकडाउन खुकुलो भएपनि कोरोना जोखिम नहटेकाले बजारमा भीडभाड हुन नदिने, अनिवार्य मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम गराउनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने शाहले बताइन् ।