प्रस, निजगढ, २३ साउन/

निजगढ नगरपालिका–१० लालमा लाल आधारभूत स्वास्थ्य सेवा केन्द्रको शनिवार उद्घाटन भएको छ । 

नगरप्रमुख सुरेशकुमार खनालले उदघाट्न गर्दै निजगढ स्वास्थ्य सेवाको क्षेत्रमा निकै अघि बढेको दाबी गरे । उनले सरकारको नीति अनुसार सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र विस्तार गर्ने क्रमले गति लिइरहेको बताए । सेवा केन्द्रलाई निजगढ नपाको तर्फबाट उपलब्ध गराउनुपर्ने कुनै पनि सेवासुविधाबाट वञ्चित नगरिने भन्दै सरकारले ७२ थरीका औषधि निश्शुल्क उपलब्ध गराउँदै आइरहे पनि नगरपालिकाले थप ३३ थरीका औषधि खरीद गरी सेवाग्राहीलाई १०५ थरीका औषधि निश्शुल्क प्रदान गर्दै आइरहेको उनले बताए ।

स्थानीय मञ्जु पौडेलको १० धुर र हीराबहादुर मोक्तानको ५ धुर गरी १५ धुर जग्गामा रु २० लाख १० हजारको लागतमा दुईवटा शौचालयसहित ४ कोठे पक्की भवन निर्माण भएको हो । स्वास्थ्य सेवा केन्द्रमा एकजना स्वास्थ्य सहायक, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगी गरी तीनजना खट्ने निजगढ नगर स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए ।

कार्यक्रममा वडाध्यक्ष पद्मबहादुर मोक्तानले सामान्य रुघाखोकी र ज्वरोमा वडावासी अन्यत्र धाउनुपर्ने समस्याको अन्त्य भएको बताए । जग्गादाताका छोरा जनक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चन्दा लामाले स्वागत र अर्का जग्गादाता हीराबहादुर मोक्तानले कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here