प्रस, परवानीपुर, २३ साउन/
भोलेन्टियर समूह वीरगंजले नेपालको मुख्य प्रवेशद्वार शङ्कराचार्य आसपासमा सरसफाइ गरेको छ । प्रत्येक शनिवार मुलुकको प्रवेशद्वारलाई आकर्षक बनाउन करीब ७ महीनादेखि नियमित सरसफाइ हँुदै आएको छ ।
प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सो द्वारको सरसफाइ शुरू गरेको हो । मुख्य प्रवेशद्वार शङ्कराचार्य र त्यसवरिपरिका क्षेत्रको सफाइ गरिएको भोलेन्टियर समूह वीरगंजका संयोजक राजन श्रीवास्तवले बताए ।
कोभिड–१९ को पहिलो प्रभाव शुरू हुनुअगावै शुरू गरिएको सरसफाइ कार्यक्रम सङ्क्रमण बढ्न थालेपछि २६औं हप्तामा फेरि सञ्चालन गर्नेगरी समापन गरिएको संयोजक श्रीवास्तवले बताए ।
भोलेन्टियर समूहले शङ्कराचार्यद्वारको सरसफाइलाई निरन्तरता दिएपछि सो क्षेत्र पहिलेभन्दा सफा देख्न थालिएको थियो । तर सङ्क्रमणले गर्दा अभियान रोकिएपछि समस्या उस्तै देखिएकोले अभियान पुनः सञ्चालन गरेको समूहका विनय गुप्ताले बताए । नगरप्रमुख विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा भएको सरसफाइ कार्यक्रममा प्रजिअ पीताम्बर घिमिरे, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, अनुसन्धान उपरीक्षक टीका पौडेल, प्रकाश खेतान, दिलीपराज कार्की, समूहका अनिल हजरा, आकाश सर्राफलगायतको सहभागिता थियो ।