भक्तपुर, २३ साउन/रासस

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतीजा शनिवार सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीको नतीजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

नतीजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जिपिए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । नतीजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने, “यस वर्ष बोर्डले कति विद्यार्थीले कुन जिपिए ल्याए भने छुट्याएनौं, जिल्लाबाट प्रमाणीकरण भएर आएको मूल्याङ्कनको नतीजालाई नै बोर्डले प्रमाणीकरण गरेको छ ।”

विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतीजा प्रकाशन गरेको हो । कोरोना भाइरस सङ्क्रमण बढेपछि यस वर्ष विद्यार्थीको भौतिकरूपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा एसइईको नतीजा सार्वजनिक गरेको हो ।

नतीजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पूरक ग्रेडवृद्धि परीक्षा सञ्चालन भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिनभित्र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here