प्रस, निजगढ, २३ साउन/
निजगढ नगरपालिका–१० लालखोलामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको उद्घाटन शनिवार भएको छ ।
निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले अटोमा सवार भई पुलको उद्घाटन गरेका थिए । यसअघि बनेका अधिकांश झोलुङ्गे पुल साँघुरो भई वर्षायाममा साना सवारीसाधनको आवतजावतमा समस्या हुने गरेको तर यो झोलुङ्गे पुलमा अटो, मोटरसाइकल आवतजावत गर्न मिल्ने गरी निर्माण गरिएको नगरप्रमुख खनालले बताए ।
झोलुङ्गे पुल सञ्चालनपछि वर्षायाममा खोला तरेर आवतजावत गर्नुपर्ने समस्या अब टरेको उनले बताए । उनले नगरभित्रका विभिन्न खोलामा पुल निर्माण गर्ने सोच भएपनि नगरपालिकाको बजेटले सो कार्य सम्भव नहुँदा केन्द्र र प्रदेश सरकारसँग पहल गर्दै आएको बताए ।
वडाध्यक्ष पद्मबहादुर मोक्तानले झोलुङ्गे पुलको निर्माणपछि लाल टोलका बासिन्दालाई ठूलो राहत मिलेको र उनीहरूमा खुशियाली छाएको दाबी गरे ।
११९ मिटर लम्बाइ र डेढ मिटर चौडाइ रहेको पुल निर्माण गर्न रु १ करोड १६ लाख खर्च भएको बताइएको छ ।
टिविएसयू हेल्भेटास बर्दिबास महोत्तरीको आर्थिक सहयोग र आदर्श जनसेवा युवा क्लब वीरगंज पर्साको समन्वय र निजगढ नगरपालिकाको समन्वयकारी भूमिकामा सो पुल निर्माण भएको लालखोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष हीराबहादुर मोक्तानले बताए ।
कार्यक्रममा जनप्रतिनिधि अमिर सिङ्तान, सरिता रिमाल, मखनी विक, जमानसिंह घलान, समाजसेवी पेमासिद्धि लामा, कुमार मोक्तान, भाइकाजी श्रेष्ठ, रेशम लामा, वडासचिव भगवती रिमाल लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन जनक पौडेलले गरेका थिए ।