राधेश्याम पटेल, वीरगंज, २२ साउन/
नेपाल–भारत सीमावर्ती बजार वीरगंज–रक्सौल आवागमन अझै सहज हुने भएको छ । रक्सौल रेलवे गुम्टी नं १३ (ढाला)मा लाइट ओभरब्रिज निर्माण भएपछि वीरगंज–रक्सौल आउजाउ गर्ने यात्रुहरूलाई सहज भएको छ ।
भारतीय रेलवेले करीब ९ करोड रुपैयाँको बजेटमा साइकल, मोटरसाइकल गुड्ने र पैदल यात्रीको लागि लाइट ओभरब्रिज निर्माण गरेको छ ।
सन् २०१९ अप्रिल–मईमा बिहारमा भएको लोकसभा चुनावको बेला भारतीय जनता पार्टीबाट लोकसभा सांसद सञ्जय जैसवालले उक्त ओभरब्रिजको शिलान्यास गरेका थिए ।
भाजपा बिहार प्रदेश पार्टी अध्यक्षसमेत रहेका जैसवाल बेतिया लोकसभा क्षेत्रका सांसद हुन् । वीरगंज–रक्सौल भएर आउजाउ गर्न रक्सौलबाट पूर्वतर्फ घोडासहनतर्फ गएको रेलवे ट्र्याकको कारण २४ घण्टामा करीब ६ घण्टा फाटक लगाएर सडक अवरुद्ध हुन्थ्यो । जसले गर्दा नेपाल–भारतका यात्रुहरू घण्टौं जामको सामना गर्थे ।
वीरगंज र रक्सौलका नागरिकले रेलवे ढालानजीकै ओभरब्रिज बनाएर उक्त समस्या समाधान गर्न सरकारसमक्ष पहल गरेपछि भारतीय रेलवेले लाइट ओभरब्रिज निर्माण गरेको आरएसएस निकट सीमा जागरण मञ्च बिहारका अध्यक्ष महेश अग्रवाल बताउँछन् । उनका अनुसार करीब दुई वर्षपश्चात् निर्माण भएको लाइट ओभरब्रिजको रङ्गरोगनको काम भइरहेको र अगस्त १५ वा सेप्टेम्बर पहिलो साता उक्त ओभरब्रिजको उद्घाटन हुनेछ । उनले सोही स्थानमा रेलवे ओभरब्रिज (आरओबी)को लागि पनि योजना अघि बढिसकेको बताए ।
आरओबीमाथि साइकल, मोटरसाइकलसँगै भारी सवारीसधान पनि पार गर्छन् भने लाइट ओभरब्रिज भएर दुई पाङ्ग्रे र पैदलयात्री मात्र यात्रा गर्छन् ।
हाल निर्माण पूरा भएको लाइट ओभरब्रिजले पनि करीब ७० प्रतिशत यात्रुलाई राहत मिल्नेछ । चार पाङ्ग्रे सवारीसाधान लिएर रक्सौल जानेहरूलाई रेल आएको वा क्रसिङ च्यानल मिलाइरहेको बेला सास्ती खेप्नुपर्ने बाध्यता यथावत् रहनेछ ।