धनुषा, २२ साउन/रासस

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । यहाँ शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “१४औं महाधिवेशन जहिले भएपनि सभापतिमा मेरो उम्मेदवारी हुनेछ ।” उनले सभापतिको उम्मेदवारीका लागि आफू अगाडि बढिसकेको र तयारी शुरू गरिसकेको बताए ।

उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुङ्गिने र महाधिवेशनको तयारीले गति लिने जानकारी दिए । उनले भने, “भदौमा महाधिवेशन हुन्छ भनेर सभापति शेरबहादुर देउवाजीले पनि भनिरहनुभएको छ, क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल शुरू भएको छ, विवाद टुङ्गिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ, तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यकता छैन ।”

पूर्वउपप्रधानमन्त्री निधिले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलले टुङ्ग्याइसकेकोले अब चाँडै मन्त्रिपरिषद् पनि विस्तार हुने बताए । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहेको हुँदा मन्त्रिपरिषद् विस्तारमा केही ढिलाइ भएको उनको भनाइ थियो ।

उनले भने, “माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेको छ, पार्टी सभापति देउवाजीलाई प्रधानमन्त्री बनाउन जजसले सहयोग गरेका छन्, उहाँहरू सबै पक्षलाई सरकारमा समावेश गराउने हाम्रो चाहना छ, त्यसैले केही ढिला भएको हो ।”

सबै दललाई सरकारमा सहभागी गराउने आफूहरूको चाहना भएको र त्यसका लागि छलफल भइरहेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here