सप्तरी, २१ साउन/रासस
सप्तरीको कञ्चनरूप नगरपालिकाले गर्भवतीलाई निश्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण एकाइद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनका आमाहरूलाई पोषण झोला वितरण’ समारोहमा नगरप्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निश्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
सप्तरी जिल्लाको पहिलो खुला दिशामुक्त र पूर्ण खोप सुनिश्चित नगर घोषित कञ्चनरूप नगरपालिका जिल्लाको एकमात्र तथा प्रदेश नं २ को पहिलो र नेपालको तेस्रो बालमैत्री नगरपालिका हो । नगरप्रमुख मिश्रले कञ्चनरूपलाई अब कुपोषणमुक्त नगर घोषणा गर्ने ढङ्गले काम अगाडि बढाइएको बताए ।
कार्यक्रममा स्वास्थ्य शाखा कञ्चनरूपले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम र फोलिक एसिड चक्की वितरण गरेको छ । गर्भावस्थामा स्वास्थ्य चेकजाँच, आइरन चक्कीदेखि क्याल्सियम र फोलिक एसिड चक्की निश्शुल्क वितरण भइरहेकोमा अबदेखि गर्भवतीलाई कुनै पनि स्वास्थ्य संस्थामा जानु पर्दाको एम्बुलेन्स भाडा नलाग्ने नगरप्रमुख मिश्रले घोषणा गरे । यसका लागि एउटा एम्बुलेन्स नियमितरूपमा बरमझियामा रहने पनि उनले बताए ।
पोषणयुक्त खानपिनको अभावले हुने कुपोषण नियन्त्रण गर्न बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत नगरपालिकाले बेलाबेलामा पोषण सामग्री उपलब्ध गराउँदै आएको छ । कार्यक्रमकी सहजकर्ता सुशीला चौधरीले कुपोषणमुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ नगरपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको उनले बताए ।
सप्ताहव्यापी कार्यक्रमका अवसरमा नगरपालिकाले सबै वडामा गरेर ३६० जना सुनौलो हजार दिनका आमाहरूलाई पोषण झोला वितरण गर्ने बहुक्षेत्रीय पोषण एकाइले जानकारी दिएको छ । झोलामा एक किलो घ्यू, एक क्यारेट अन्डा, एक किलो हरियो भटमास, दुई किलो पोषिलो पीठो, नौ किसिमका गेडागुडीको प्याकेट, ४ प्याकेट सेनिटरी प्याड, ह्यान्ड सेनिटाइजर, सर्जिकल मास्क, टुथब्रश, टुथपेस्ट, साबुनको बट्टा, मग, क्याल्सियम चक्की रहेका छन् ।
कार्यक्रममा कञ्चनरूप नगरपालिकाका पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी, पशुपक्षी विकास शाखाका प्रमुख दिवाकान्त चौधरी, स्वास्थ्य शाखा प्रमुख रामसेवक यादव, सहसंयोजक डम्बरप्रसाद गुप्ताले गर्भवती र सुत्केरीले ध्यान दिनुपर्ने कुरा र पोषणको महŒवबारे जानकारी दिएका थिए ।