विजय राम घटनामा तीनजना प्रहरी निलम्बन

प्रस, रौतहट, १६ भदौ/
    गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत एकजना प्रहरी निरीक्षक र दुईजना प्रहरी हवल्दारलाई विजय महरा रामको घटनामा निलम्बन गरेको छ।
    इप्रका गरुडाको हिरासतमा रहेका विजय महरा रामलाई सोधपूछ गर्ने क्रममा संलग्न प्रनि नवीनकुमार सिंह, प्रहद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको जिप्रका, रौतहटले जनाएको छ।
    जिप्रका, रौतहटको सिफारिशमा गृह मन्त्रालयले तीनजनालाई निलम्बन गरेको हो। प्रदेश २ प्रहरी कार्यालय जनकपुर, धनुषाले भदौ १५ गते पत्राचार गरी तीनजना निलम्बनमा परेको र उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जनाएको छ। साउन ३१ गते राति गरुडा नपा–८ बसविट्टी, जिङ्गडिया बस्ने २० वर्षीय निरन्जन रामको हत्या सम्बन्धमा प्रहरीले विजय महरा रामलगायत सातजनालाई पक्राउ गरी सोधपूछ गरेको थियो। त्यसपछि उपचारको लागि नेशनल मेडिकल कलेजमा भर्ना भएका विजय महरा रामको निधन भएपछि उनको मृत्यु प्रहरी यातनाको कारण भएको भनी परिवार, आफन्तजन र दलित संस्थाहरूले विरोध गर्दै छानबीनको लागि आन्दोलन गर्दै आएका छन्।
    यसैबीच, विजय महरा रामलाई प्रहरीले चरम यातना दिएको कारण निजको मृत्यु भएको भन्दै पर्सामा रौतहट प्रहरीविरुद्ध दलित युवाहरूले प्रदर्शन गरेका छन्। पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका श्रीपुर पंचगावाँमा संयुक्त दलित सङ्घर्ष समितिको आयोजनामा दलित युवाहरूले प्रदर्शन गर्दै विजय महरा रामको यातनामा संलग्न प्रहरीहरूलाई कारबाईको माग गरेका हुन्। उनीहरूले आरोपित प्रहरीहरूलाई थुनामा राखी अनुसन्धान गर्ने र उनीहरूविरुद्ध अदालतमा मुद्दा दायर गर्न र क्षतिपूर्तिको माग गरेका छन्। उनीहरूले २० वर्षीय निरञ्जन रामको हत्यामा संलग्न वास्तविक दोषीलाई पत्ता लगाउन पनि माग गरेका छन्।
    पिस फर दलित फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले सहजीकरण गरेको विरोध कार्यक्रममा दलित अगुवाहरू लालबिहारी राम, हरिलाल राम, सुबा राम, महेन्द्र राम, शिवनारायण राम, नन्दलाल राम, दिपेन्द्र राम, प्रमानन्द राम, प्रह्लाद राम, धुरी रामलगायतको सहभागिता थियो।
    विजय रामको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा शल्यपरीक्षण गरी राखिएको छ। दोषीलाई कारबाई नहुन्जेलसम्म शव नबुझ्ने परिवारजनले अडान लिएका छन्।
    मृतकका पिता पनिलाल राम चमारले निर्दोष छोरालाई पक्राउ गरी प्रहरी यातना दिएको आरोप लगाएका छन्। उनले घटनाको निष्पक्ष छानबीन र दोषीलाई हदैसम्मको कारबाइको माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here