काठमाडौं, १९ साउन/रासस
काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लोपटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाइ नहुँदा केही दिनयता दिनहँुजसो बिरामी बढेका हुन् ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायतका संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष (आइसियू, हाइडिपेन्डेन्सी युनिट (एचडियू, भेन्टिलेटर र साधारण शैंया भरिएका छन् । सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपालले अस्पतालका सबै शैंया भरिएको जानकारी दिए । उनका अनुसार १० दिनयतादेखि बिरामीको सङ्ख्या बढ्दै गएपछि शैंया भरिएका हुन् । “सङ्क्रमितहरू आउने क्रम बढेकाले हामीसँग भएका २०० शैंया भरिन्छन् होला,” उनले भने, “अहिले बिरामी पनि पहिलेका जस्तै श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने समस्या रहेको छ ।”
उनका अनुसार आइसियूमा २०, एचडियूमा ५० र साधारण शøयामा १३० जना बिरामी रहेका छन् । अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । दोस्रो लहर गत चैतबाट शुरू भएको हो । दोस्रो लहरसँगै बिरामी बढ्न थालेका हुन् । दोस्रो लहरमा सङ्क्रमितलाई ज्वरो आउने, निमोनिया हुने, श्वासप्रश्वासमा समस्या आउनेजस्ता समस्या देखिएको छ । सङ्क्रमणको दोस्रो लहर गत वैशाख अन्तिम सातामा उच्च बिन्दुमा पुगेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निषेधाज्ञा खुला राखेर जनस्वास्थ्यका मापदण्ड लागू नगरेमा असोज १५ पछि सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमले विगत दुर्ई हप्तादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताए । उनले निषेधाज्ञा खुकुलो भएको, भीडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा बिरामी बढ्दै गएको बताए । उनका अनुसार अस्पतालमा १०० जना बिरामी रहेका छन् । तीमध्ये ३५ जना आइसियू र चारजना भेन्टिलेटर र अन्य एचडियूमा रहेका छन् । सङ्क्रमित बढ्ने जोखिमलाई ध्यानमा राखेर अस्पतालले एक हजार शैंया तयारी अवस्थामा राखेको उनको भनाइ छ । यहाँ एक सय आइसियू र १०० भेन्टिलेटर रहेका छन् ।
उनले सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि अस्पतालमा २० टनको तरल अक्सिजन र दुर्ईवटा अक्सिजन प्लान्ट जोडिएको जानकारी दिए । यस्तै, थप एकवटा अक्सिजन प्लान्ट जोड्ने तयारीमा अस्पताल रहेको छ ।
शुक्रराज अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले निषेधाज्ञा खुलेसँगै बिरामी बढ्दै गएको बताए । उनका अनुसार अहिले २२ जना आइसियू, २० जना भेन्टिलेटर र ३५ जना कोभिड–१९ शøयामा रहेका छन् । यस्तै, पाटन अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा आशिष श्रेष्ठका अनुसार कुल १५१ बिरामीमध्ये २१ जना आइसियूमा र १० जना भेन्टिलेटरमा रहेका छन् । यस्तै, विगत २४ घण्टामा पाटन अस्पतालमा २२ जना सङ्क्रमित भर्ना भएका छन् । पाटनमा ३० आइसियू, १५ भेन्टिलेटरसहितको शøया रहेका छन् ।
काठमाडौं उपत्यकामा आठ हजार ८९५ सक्रिय सङ्क्रमित रहेका छन् । देशभरि १५७ अस्पताल कोभिड–१९ का लागि सूचीकृत गरिएका छन् । ती अस्पतालमा दुर्ई हजार ६०० आइसियू रहेका र ६३० थप गर्ने प्रक्रियामा छन् । यस्तै, ९०० भेन्टिलेटर र दुर्ई हजार ७५ एचडियू रहेका छन् । उपत्यकाका सरकारी अस्पतालमा ३११ आइसियू र १३९ भेन्टिलेटर र साधारणसँगै एचडियू दुर्ई हजार ६६ शैंया रहेका छन् ।
देशभरिमा ६९० जना आइसियू र १७५ जना भेन्टिलेटर, तीन हजार २२४ जना संस्थागत आइसोलेशन र २८ हजार ४०५ जना होम आइसोलेशनमा रहेका छन् । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शøया भरिन थालेको बताए । उनले अहिले १२२ जना सङ्क्रमित बिरामी उपचाररत रहेको जानकारी दिए । तीमध्ये ९१ जना साधारण शøयामा, अक्सिजन दिएर आइसियूमा ११ जना, भेन्टिलेटरमा १८ जना र दुईजना आकस्मिक सेवामा उपचार गराइरहेका छन् ।
उनले बिरामी आउन थालेकाले अब २२ वटा साधारण शैंया र एकवटा मात्र आइसियू शैंया खाली रहेको बताए । अस्पतालमा १४५ वटा शøया कोभिड–१९ का सङ्क्रमितका लागि छुट्याइएको छ । त्रिवि शिक्षण अस्पतालमा पाँच एचडियू र २२ आइसियू बालबालिकाका लागि छुट्याइएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भीडभाड बढेकाले सङ्क्रमितसँगै बिरामी पनि बढेको बताए । “अहिले केही दिनयता समाजमा सङ्क्रमण बढेका पाइएको छ,” उनले भने, “सङ्क्रमितहरू दिन प्रतिदिन बढेका छन् ।” उनले निषेधाज्ञा खुकुलो भएपनि सबैले जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरे ।