प्रस, परवानीपुर, १८ साउन/
पर्सामा तीन दिन (बुधवारसम्म)भित्र ४४ हजार खोप लगाउने तयारी भइरहेको बताइएको छ ।
स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले साउन २० गते बुधवारका दिन १२ हजार जानसिन खोप र साउन २१–२२ गते गरी दुई दिनमा ४२ हजार भेरोसिल खोप लगाउने कार्यक्रम अगाडि बढाइएको बताए ।
उनले पछिल्लोपटक लगाइएको जानसिन खोपमध्ये १२ हजार खोप बचेकाले बुधवार वीरगंजका ३२ वटा वडाको लागि ५ केन्द्र र १३ वटा अन्य पालिकामा यो खोप लगाउने कार्यक्रम तय भएको बताए ।
वीरगंजको स्वास्थ्य कार्यालय पिपरा, बगही, नगवा, नारायणी अस्पताल, श्रीपुर स्वास्थ्य केन्द्रमा यो खोप लगाइनेछ भने १३ वटा अन्य पालिकामा सुविधा अनुसार खोप लगाइनेछ ।
जानसिन खोप ४५ वर्षमाथिका सबैले लगाउन पाइन्छ भने बिहीवार र शुक्रवार भेरोसिल खोप १४ वटा पालिकाका वडाका स्वास्थ्य केन्द्रबाट लगाइने तयारी छ । भेरोसिल ५५ वर्षमाथिका सबैले लिन पाउनेछन् । पर्सामा हालसम्म ४० हजारजनाले पूर्ण खोप लगाइसकेका छन् ।
पर्साको कुल ७ लाख २३ हजार ३०४ जनसङ्ख्यामध्ये कोभिशिल्डको पहिलो मात्रा लिनेमा ३७ हजार एक सय ३०, दोस्रो मात्रा लगाएका ९२६४ जना रहेका छन् । कोभिशिल्डको दोस्रो मात्रा लिनेहरू २७ हजार बाँकी रहेका छन् ।
त्यसैगरी, भेरोसिलको पहिलो मात्रा ८६३४, दोस्रो मात्रा लिएका ८ हजार १२ र जानसिन खोप २३ हजार २२० जनाले लिएका छन् ।
जानसिन एउटै मात्रा लिए पुग्ने खोप हो । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको चार महीना बितिसक्दा पनि खोप नआएकोले पहिलो मात्रा लगाउनेहरू चिन्तित छन् । तर सरकारले जिल्लाबाट तथ्याङ्क लिइसकेको र भारतले पठाएपछि लगाउने तयारीमा रहेको समाचार छ ।