जेरुसेलम, १८ साउन/सिन्ह्वा

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुईजनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताएका छन् ।

उनले इरान इजरायलको शत्रु रहेको आरोप लगाउँँदै उक्त घटनामा इरानको हात रहेको प्रमाण आफूहरूसँग रहेको दाबी पनि गरेका छन् । उनको यो भनाइपछि उता अमेरिका र बेलायतले पनि इरानको हात रहेको हुन सक्ने वक्तव्य दिएका छन् ।

बेलायत र अमेरिकाले इरानको हात रहेको आफूहरूलाई पनि विश्वास लागेको बताएका थिए । अमेरिका र बेलायतले यस घटना अन्तर्राष्ट्रिय कानूनको विपरीत रहेको पनि बताएका छन् ।

यता इरानले भने सो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेनेटले यसबारेमा चेतावनी दिंदै इरानलाई कसरी जवाफ दिनुपर्छ भन्ने कुरा आफूलाई थाहा भएको भनेपछि यता इरानले यस घटनामा आफ्नो हात नरहेको भनी स्पष्ट गरेको छ ।

तेहरानले यसलाई आधारहीन आरोप भनेको छ । उक्त ट्याङ्करमा भएको हमला इजरायल र इरानबीचको अघोषितरूपमा एक किसिमको तनाव बढाउने पछिल्लो घटनाका रूपमा आएको विदेशी समुदायले दाबी गरेका छन् ।

एको मार्चदेखि इरान र इजरायलले सञ्चालन गर्दै आएका कैयौं पानीजहाजमा आक्रमण भएको देखिएको छ । पछिल्लोपटक भने इजरायलको स्वामित्वको एक कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रीट नामक ट्याङ्करमा गत बिहीवार आक्रमण भएको थियो ।

ओमानी तटमा सो ट्याङ्करमाथि आक्रमण भएको थियो । त्यस आक्रमणमा परेर दुईजनाको ज्यान पनि गएको थियो । ज्यान जानेमा एकजना ब्रिटिश र एकजना रुमेनियाली नागरिक रहेका छन् । त्यस हमलामा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here