नयाँ दिल्ली, १८ साउन/एएनआई

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ । पछिल्ला केही दिनदेखि निरन्तर दैनिक औसत ४० हजारजनाका दरले नयाँ सङ्क्रमितहरू थपिएको देखिएको छ ।

त्यसैगरी, ३६ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको पनि अधिकारीहरूले जनाएका छन् ।

कोरोना भाइरसविरुद्धको सतर्कता, खोप अभियानलगायतका कारणले अहिले दैनिक सङ्क्रमितहरूको सङ्ख्या ४० हजारको आसपासमा सीमित भएको विश्लेषण गरिएको छ । अधिकारीहरूले सोमवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार १३४ जना नयाँ सङ्क्रमित भएका छन् ।

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरूको कुल सङ्ख्या तीन करोड १६ लाख ९४ हजार ९५८ पुगेको छ । त्यसैगरी, कोरोनाका कारण कुल मृतकको सङ्ख्या चार लाख २४ हजार ७७३ पुगेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । 

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामैं रहेका सङ्क्रमितहरूको सङ्ख्या चार लाख १३ हजार ७१८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ९४६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एकै दिनमा नयाँ थपिएका सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या भने बढेको छ । भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या तीन करोड आठ लाख ५७ हजार ४६७ रहेको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार कुल सङ्क्रमितमध्ये ९७.३५ प्रतिशत सङ्क्रमणमुक्त भइसकेका छन् ।भारतमा अहिलेसम्म ४७ करोड २२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ भने अहिलेसम्म ४७ करोड २२ लाख २३ हजार ६३९ जनाको कोरोना परीक्षण गरिएको छ । 

पछिल्लो २४ घण्टामा १७ लाख छ हजार ५९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here