सप्तरी, १८ साउन/रासस

छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) सोमवार फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतवार राति करीब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । 

चोरी गरेका मण्डलले बिहान आफैंले मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै गाउँमा हल्ला गर्दै हिंडेको स्थानीयवासी जयप्रकाश यादवले बताए । ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

चोरीको घटना बाहिरिएपछि आइतवार राति नै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरीक्षक धमलासहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तत्कालै पूजाको पालोमा रहेका तीनजना पुजारीलाई नियन्त्रणमा लिएको थियो । चोरीको अनुसन्धानका लागि राति नै सीमानाकालाई समेत सिल गरिएको थियो ।

मन्दिरमा सिसिटिभी जडान भएपनि तार काट्ने, क्यामेरा फुटाउने कामले गर्दा मन्दिर अहिले सिसिटिभीको निगरानीमा छैन । मन्दिरको संरक्षणमा लापरवाही भएको भन्दै मन्दिरमा भेला भएका स्थानीयवासीले रातिदेखि नै चर्काे विरोध गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here