काठमाडौं, १८ साउन/रासस
नेपालका सञ्जीव नेपालीसहित तीनजना खेलाडीले डिजी एशियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनशिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।
पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ स्कोर प्राप्त गर्दा क्लिभले ४.४८३ स्कोर जोडेका थिए । महिला १८–३० वर्षमुनि उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईंले सफलता पाइन् । उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण चुमिन् ।
सन्दीपाले ५.५०० स्कोर र सानोनले ५.४०० स्कोर प्राप्त गरेकी थिइन् । नेपालकै प्रेमकुमार दर्नालले पुरुष ४०–५० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जिते । प्रेमकुमारले कुल ५.०६७ स्कोर बटुल्दै अमेरिकाका टीम ओमिरालाई हराए । थोरै स्कोरले पछि परेका टीमले ५ स्कोर बटुलेका थिए ।
यही साउन १६ गतेदेखि सञ्चालन भएको पुम्से च्याम्पियनशिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिङ्गापुर, स्लोभानिया र इन्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।