प्रस, सेढवा, १६ साउन/

नेपाल विद्युत् प्राधिकरणले बिजुलीको पोल नसार्दा ग्रामीण भेगमा विकास निर्माणका काम प्रभावित भएका छन् । खासगरी सडक निर्माणको क्रममा सडकबीच रहेका पोल नहटाइँदा सडक बीचमैं पोल पारेर ढलान, पिच गर्ने काम हुँदै आएको छ ।

जीराभवानी गाउँपालिका–१ भवानीपुरमा दुईवटा विद्युत् पोल परेको कारण कालोपत्र गर्ने काम रोकिएको छ ।

गाउँलेले पोल हटाएर मात्र कालोपत्र गर्न अडान लिएपछि ठेकदारले पोल परेको क्षेत्र छाडेर अन्यत्र कालोपत्र गरेको छ ।

तर जीराभवानी गापा–१ अन्तर्गत जगतियादेखि महादेवपटीसम्म पोललाई सडकको बीचमैं आरसिसी ढलान भने पोललाई बीचमैं राखेर गरिएको छ ।

सडक डिभिजन कार्यालय र गापाको संयुक्त लगानीमा निर्माण भएको सो सडकको बीचमा पोल परेको र पोल हटाउने कुरामा प्राधिकरणले आलटाल गरेपछि ठेकदारले पोललाई बीचमा पारेर ढलान गरेको छ ।

सात मिटर चौडा सो सडकमा करीब तीन मिटरभित्र विद्युत् पोल छ । पोल बीचमैं पारेर सडक निर्माण गरिएकोले दुर्घटनाको जोखिम बढेको स्थानीयको गुनासो छ ।

यस सम्बन्धमा जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतासँग बुझ्दा उनले सडक निर्माण कार्य अगावै नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रलाई सोबारे अवगत गराइएको तर पोल हटाउन कुनै चासो नदेखाएपछि आवको अन्तमा ठेकदारले सडकबीचमा पोल पारेर ढलान गर्न बाध्य भएको बताए ।

नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रका इन्जिनीयर निर्मल फौज्दारले जीराभवानी गापाबाट हाइटेन्सन तारको पोल सार्ने परिपत्र आएको तर माथिल्लो निकायको निर्देशनबाट मात्रै पोल सार्न मिल्ने बताए ।

विद्युत् प्राधिकरण प्रदेश कार्यालय, जनकपुरबाट स्वीकृत लिएर केन्द्रबाट आदेश भएपछि लगत स्टिमेटको आधारमा रकम धरौटी जम्मा भएपछि मात्रै पोल सार्ने काम हुने इन्जिनीयर फौजदारले बताए । फाइल माथिल्लो निकायमा गएको छ निर्देशन आउने बित्तिकै पोल सार्ने काम हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here