प्रस, वीरगंज, १६ साउन/

नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा सञ् चालित रक्त सञ्चार केन्द्र वीरगंजमा रगत अभाव भएको छ ।

दोस्रो कोरोनाकालमा निषेधाज्ञा लागू भएपछि रक्तदान कार्यक्रम प्रभावित भएको र अहिले निषेधाज्ञा जारी रहेपनि पछिल्लो अवस्थाभन्दा खुकुलो भएको कारण वीरगंज महानगरका सबैजसो निजी, सरकारी अस्पताल पूर्णरूपमा सञ्चालन भइसकेको अवस्थामा रगतको माग पनि बढेको छ ।

तर रक्तदान कार्यक्रमहरूमा कमी आएकोले रगत अभाव भएको केन्द्रका प्रमुख उदयराज शर्माले बताए । उनले अहिले दैनिक पचास पिन्टभन्दा बढी रगतको माग रहेको तर रक्तदान कार्यक्रम माग पूर्ति हुने किसिमले सञ्चालित नहुँदा रगतको अभाव हुन गएको बताए ।

शुरू निषेधाज्ञामा पनि रगतको अभाव भएको थियो । तर त्यतिखेर कोभिडको कारण बिरामी भर्ना र अप्रेशनको काम कम भएकोले अभावको खासै अनुभूति नभएपनि अहिले सबै अस्पताल सञ्चालनमा रहेका र सुत्केरी, घाइते, शल्यक्रिया गरिएका बिरामीहरूमा रगतको माग बढी भएको प्रमुख शर्माले बताए ।

रक्तसञ्चार केन्द्रमा रगत सञ्चय हुन्जेल कुनै पनि बिरामीलाई विनारगत फिर्ता नगरिएको तर अहिले अभाव भएको बेला फिर्ता गर्न बाध्य हुनुपरेको उनले बताए ।

प्रमुख शर्माले रगतदान कार्यक्रमको संवेदनशीलता बुझेर पर्सा, बारा, रौतहट र सर्लाहीमा क्रियाशील सङ्घ, संस्थाहरूलाई रक्तदान कार्यक्रम आयोजना गरेर सघाउन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here