ढाका, १६ साउन/सिन्ह्वा/रासस
बङ्गलादेशमा पछिल्ला केही दिनयता दिनहुँ कोरोना भाइरसका सङ्क्रमित भेटिने क्रम बढ्दै गएपछि यहाँको सरकारले लकडाउन थप कडा गरेको जनाएको छ ।
बङ्गलादेशका अधिकारीले दिएको जानकारी अनुसार यहाँ बिहीवार मात्र १५ हजारभन्दा बढी सङ्क्रमित भेटिएका थिए । सङ्क्रमण शुरू भएदेखि विश्वका अन्य देशको तुलनामा यहाँ खासै सङ्कट नपरेकोमा पछिल्लो समयमा सङ्क्रमित व्यक्ति बढ्दै गएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सङ्क्रमणबाट बङ्गलादेशमा २० हजारभन्दा बढीको ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ अहिलेसम्म १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
बङ्गलादेश सरकारले गएको महीना दिनभन्दा लामो समयदेखि देशव्यापी लकडाउन गरेको छ । तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ ।
यहाँ विद्यालय पहिलेदेखि नै बन्द छन् भने होटल केही समयदेखि थोरै सङ्ख्यामा सञ्चालन गर्न दिइएको थियो । आइतवारदेखि होटल पनि बन्द गरिने सरकारले जनाएको छ । पछिल्लो महीना देशव्यापी लकडाउन गरिएकोमा केही खुकुलो थियो ।
आइतवारदेखि मानिसलाई थप सतर्क रहन भनिएको छ भने सार्वजनिक स्थानमा हुने जमघट र होटल रेस्टुरामा हुने जमघट पूर्णरूपमा निषेध गरिने बताइएको छ ।