प्रस, वीरगंज, १५ साउन/
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको आह्वानमा शुक्रवार देशभरका पालिका र जिल्ला शिक्षा विकास समन्वय समितिको कार्यालयमा शिक्षकहरूले ३३ सूत्रीय माग पूरा गराउन आठघण्टे रिले अनशन गरे अनुसार पर्साका शिक्षकहरू पनि रिले अनशनमा बसेका छन् ।
नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवले १४ वटै पालिका र वीरगंजस्थित शिक्षा विकास समन्वय समितिको कार्यालयमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म रिले अनशन बसेको बताए । उनले दुईजना महिला र तीनजना पुरुष शिक्षक गरी पाँच/पाँचजनाको टोली प्रत्येक दुर्ई घण्टा आलोपालो गरी बसेको बताए । पर्सा जिल्लामा २६ सय शिक्षक/शिक्षिका छन् ।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले अघि सारेको ३४ सूत्रीय मागमा कोरोनाको खोप दिने काम भइसकेको र अब बाँकी ३३ सूत्रीय मागमध्ये राहत शिक्षकलाई स्थायी गर्ने, बालविकास र विद्यालय कर्मचारीलाई सङ्घ र पालिकाबाट गरी १५ हजार तलब उपलब्ध गराउने भनिएकोमा सङ्घबाटै सो तलबको व्यवस्था गरिनुपर्ने र स्थायी शिक्षकको नियमित बढुवा हुनुपर्नेलगायत माग रहेको नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष यादवले बताए ।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले यस अघि तीन चरणको आन्दोलन कोरोनाको कारण भर्चुअल गरेको थियो भने चौथो चरणको आन्दोलन आज भौतिक सहभागितामा गरेको नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष यादवले बताए ।
प्रस, ठोरी/
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको चौथो चरणको आन्दोलनको कार्यक्रम अनुसार ठोरी गापाको कार्यालयमा शिक्षकहरू रिले अनशनमा बसेका छन् ।
नेपाल शिक्षक महासङ्घ ठोरीको अगुवाइमा शुक्रवार बिहान ८ बजेदेखि नै गापा कार्यालय घ्याङडाँडामा शिक्षकहरू अनशन बसेको महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए ।
शिक्षकहरू विभिन्न पेशागत माग राख्दै देशभरका पालिका कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र प्रदेशको सामाजिक विकास मन्त्रालयको मूल गेटमा रिले अनशन बस्ने आन्दोलनको कार्यक्रम अन्तर्गत अनशन बसेको महासङ्घ ठोरीले जनाएको छ ।
अनशनमा महासङ्घका अध्यक्ष अमृत श्रेष्ठ, उपाध्यक्ष गोपीलाल श्रेष्ठ, सरस्वती माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मी, मावि विजयबस्तीका प्रधानाध्यापक नारायण लामा, ज्ञानज्योति माविका प्रधानाध्यापक पीताचन्द्र ढुङ्गेललगायत ठोरीका दुई दर्जनभन्दा धेरै शिक्षकहरूको सहभागिता छ ।
महासङ्घले प्रारम्भिक बालकक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिडविरुद्ध खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने लगायत माग राख्दै चौथो चरणको आन्दोलन गरिरहेको छ ।