नितेश कर्ण वीरगंज, १४ साउन/

पर्सा जिल्लाको एकमात्र खुला रक्सौल–वीरगंज नाकाबाट खुलेयाम तस्करी शुरू भएको छ ।

पहिलो कोरोनाकालदेखि नै सीमा सील छ । दोस्रो कोरोनाकालमा जिल्ला प्रशासन कार्यालय पर्साले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिले अनिश्चितकालका लागि जारी नै छ । निषेधाज्ञा जारी रहेको अवस्थामा जिल्लाका अन्य नाकाहरू बन्द छन् भने मुख्य नाका रक्सौल–वीरगंज मात्र खुला छ ।

यो नाका भएर विदेशी आउन निषेध छ भने नेपालीहरू आउँदा अनिवार्य स्वास्थ्य परीक्षण र तोकिएको क्वारेन्टिनमा बस्नुपर्ने भनिएको छ । तर यो उर्दी अहिलेसम्म कागजमा मात्रै सीमित छ । भारतले आफ्नो नाका खोलिसकेको अवस्थामा नेपालले भने सीमा सील राखेको र भारतबाट कामका लागि वीरगंज आउनेहरूलाई समेत रोक लगाएपछि भारतीयहरूले मितेरीपुलमा प्रदर्शन गरेका थिए ।

त्यसपछि स्थानीय मानिसको आवतजावतका लागि खुकुलो पारिएको यो नाकाबाट अहिले खुलेयाम चिनियाँ स्याउको तस्करी शुरू छ । सर्वसाधारणको आवतजावतमा रोक लगाउने यस क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरू अहिले तस्करी नियन्त्रणको कुरामा मौन छन् ।

रजत जयन्ती चोकदेखि सशस्त्र र नेपाल प्रहरीको चेकजाँच शङ्कराचार्य द्वारसम्म छ । बीचमा वीरगंज भन्सार कार्यालय छ, जहाँ सिसिटीभीसहित भंसार सुरक्षाकर्मीको रूपमा सशस्त्रको अलग दस्ता छ । तर यी सबै स्थान सहज पार गरेर चिनियाँ स्याउ भारत पुग्दैछ ।

मुख्य नाका खुकुलो हुनु अगाडि इनर्वा, भन्सार पछाडि र बाराको विश्रामपुर, बलिरामपुरबाट चिनियाँ स्याउ भारत पु¥याइन्थ्यो ।

अहिले मुख्य नाकाबाट चिनियाँ स्याउको तस्करी शुरू भएपछि महिला, बालबालिका टाउकोमा स्याउको कार्टुन बोकेर रक्सौल पु¥याउँदै आएका छन् ।

वीरगंज मुख्य नाकासहित ग्रामीण क्षेत्रबाट पनि चिनियाँ स्याउ भारत जाने गरेको पाइएको छ । अहिले दैनिक ५–६ गाडी चिनियाँ स्याउ भारत गइरहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here