प्रस, सेढवा १३ साउन/

कोरोना महामारीको कारण सरकारले विद्यालय सञ्चालनमा रोक लगाए पनि पर्साको ग्रामीण भेगका केही निजी विद्यालय साउन १ गतेदेखि सञ्चालन भएका छन् ।

जीराभवानी गाउँपालिका–१ र २ मा रहेका तीनवटा निजी विद्यालयमा अहिले पठनपाठन भइरहेको छ । जिल्लाका केही निजी तथा संस्थागत विद्यालयले अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीहरूलाई अध्ययन गराइरहेका छन् ।

यता, ग्रामीण भेगका सामुदायिक विद्यालयहरूले औपचारिकरूपले साउन १ गतेदेखि विद्यालय खोली प्रशासनिक कार्य गरिरहेका छन् ।

ठोरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोपाल जोशीले विद्यालयमा अनिवार्य शिक्षक कर्मचारी उपस्थित भई विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, विद्यार्थीको प्रगति विवरण, मार्क लेजर भर्ने कार्य भइरहेको बताए । अनलाइन कक्षा सञ्चालनका लागि क्लोज युजर ग्रुपको सिमकार्ड बाँड्ने कार्य भइरहेको शिक्षा प्रमुख जोशीले बताए ।

ज्ञानवाटिका मावि सुवर्णपुरका शिक्षक जीवन श्रेष्ठले सम्पूर्ण विद्यार्थीसँग स्मार्ट फोन नभएकोले अनलाइन सेवा सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।

यस क्षेत्रका जगरनाथपुर, जीराभवानी, ठोरी, पटेर्वासुगौली, सखुवापरसौनी, धोबिनी गाउँपालिकाका विद्यालयहरूमा पाठ्यपुस्तक वितरण, भर्नालगायत कार्यका लागि मात्रै विद्यालय सञ्चालनमा रहेका छन् ।

जीराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले प्रशासनिक कामकाजका विद्यालय सञ्चालनमा रहेको बताए ।

यस गाउँपालिकाका केही निजी विद्यालयहरूले पालिकासँग समन्वय नै नगरी पठनपाठन गरिरहेको हुँदा भोलि कुनै किसिमको घटना हुँदा पालिका जिम्मेवार नहुने अधिकृत मेहताले बताए । ती विद्यालयमा कोभिड–१९ को सङ्क्रमणको घटना भएमा सम्बन्धित विद्यालय तथा अभिभावक नै जिम्मेवार हुने प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here