नितेश कर्ण, वीरगंज, १३ साउन/

पर्सा जिल्लामा कोभिडको जस्तो लक्षण देखिने इन्फ्लुएन्जा ए र बी भाइरल भएको छ ।

करीब दुई सातादेखि इन्फ्लुएन्जा फैलिएको र अहिले यो भाइरल भएर प्रायः सबै घरपरिवार पीडित भएको नारायणी अस्पतालका डा. सरोजरोशन दास बताउँछन् । उनले अस्पतालमा उपचारका लागि दैनिक आउने रोगीमध्ये ९० प्रतिशत यही समस्याबाट ग्रसित हुने गरेको बताए।

निजी क्लिनिकहरूमा पनि आउने बिरामीमध्ये १०–१५ जना यसै भाइरलबाट पीडित हुने गरेको उनले बताए । रूघा, खोकी, ज्वरो, नाक बग्ने, थकान र जीउ दुख्ने अनि कमजोरी महसूस हुने कोभिड जस्तो लक्षण देखा परिरहेको उनी बताउँछन् ।

अस्पतालमा इन्फ्लुएन्जा परीक्षणको सुविधा नभएकोले सरूवा रोग नियन्त्रण टेकुको प्रयोगशालामा पर्साका पाँच र धनुषाका तीनजनाको नमूना पठाइएको उनले बताए ।

प्राप्त रिपोर्टमा पर्साका चारजनामा इन्फ्लुएन्जा तथा धनुषाका तीनजनामा इन्फ्लुएन्जा बी पुष्टि भएको छ ।

डा. दासले इन्फ्लुएन्जा भाइरल भएर घरघरमा पुगेपनि यसको राम्रो पक्ष पनि देखिएको बताए । राम्रो पक्ष के भने यो भाइरल विरुद्ध तीनदेखि पाँच दिनसम्म इन्टिबायटिक औषधी सेवन गर्दा निको हुने उनले बताए ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले पनि अस्पतालमा अहिले कोभिडजस्तो लक्षण भएको इन्फ्लुएन्जाका बिरामी बढेको बताए । उनले अहिले दैनिक ५० देखि ९० जनाको स्वाब परीक्षण भइरहेको तर सङ्क्रमित भने नगण्य पुष्टि हुने गरेको बताए ।

अस्पतालमा कोभिडको पाँचजना सङ्क्रमित मात्र रहेकाले कोभिड बिरामी घटेको तर इन्फ्लुएन्जाका बिरामी ह्वात्तै बढेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here