बलिराम शुक्ला, बिरूवागुठी, १२ साउन/
पर्साको पर्सागढी नगरपालिकाविरुद्ध केही दिनदेखि विभिन्न सञ्चारमाध्यमबाट समाचार आइरहेको भन्दै नगरपालिकाकाले पत्रकार सम्मेलन गरेको छ । वडा नं ८ वडा समितिको सभाकक्षमा सोमवार पत्रकार सम्मेलन गरिएको थियो ।
पालिकाका लेखा अधिकृत रामकुमार कुशवाहाले पालिकालाई बन्धक बनाउन खोजेको र सोविरुद्ध पालिकाले सजगता अपनाउँदा पालिकामाथि विभिन्न आरोप लगाउँदै बदनाम गरिएको नगरप्रमुख लोकनारायण यादवले पत्रकार सम्मेलनमा आरोप लगाए ।
कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत यादव, सम्बन्धित वडाका अध्यक्ष, नगरका प्रवक्ता तथा वडाध्यक्ष किसुनदेव यादवले पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए ।
सो अवसरमा उनीहरूले लेखा अधिकृत कुशवाहाले पालिकालाई अप्ठ्यारोमा पारी रकम फ्रिज गराउन उद्दत रहेको भन्दै लेखाको कम्प्युटरको पासवर्ड परिवर्तन गरेको, मोबाइलको स्वीचसमेत अफ गरी कार्यालयलाई जानकारीसमेत नदिई फरार रहेको बताए । असार ३० गते आफूनजीकका व्यक्तिको चेक बनाएर बाँकीलाई अलपत्र पारी लेखापाल फरार भएको पालिकाका पदाधिकारीहरूको भनाई थियो ।
हाल विभागमा रहेका लेखा अधिकृत कुशवाहालाई सोध्दा उनले पालिका पदाधिकारीहरूको भनाइको खण्डन गरेका छन् । आफूले नियम अनुसार मिल्ने सबैको चेक बनाइदिएको र पालिकामा आफ्नो नजीक र टाढा भन्ने कोही नभएको बताए ।
उनले लेखासम्बन्धी कम्प्युटरको पासवर्ड अर्को लेखा अधिकृतलाई हस्तान्तरण गर्नुपर्ने र त्यो कुनै जनप्रतिनिधि वा कर्मचारीलाई दिन नमिल्ने कोलेनिकाको सामान्य निर्देशन पनि पालिकाका पदाधिकारीलाई थाहा नहुनु लाजमर्दो कुरा भएको भन्दै आफूपछि कार्यभार सम्हाल्न आउने लेखा अधिकृतलाई पासवर्ड हस्तान्तरण गर्ने प्रस्ट पारेका छन् ।
आफू कहिल्यै गोप्य नरहेको र आफ्नो जुनसुकै समय लाग्ने मोबाइल नं पालिकाका पदाधिकारीहरूलाई थाहा रहेको भन्दै उनले नलाग्ने र आफूले प्रयोग नै नगरेको नम्बर पालिकाले सञ्चारकर्मीलाई दिएको हुन सक्ने बताए ।
आफ्नो दरबन्दी पर्सागढीमा नै रहेको भए तापनि पालिकाले जबरजस्ती मन्त्रालयमा पठाएको र मन्त्रालयले तीन महीनाको काजमा जिल्ला समन्वय समिति पर्सामा पठाएको जानकारी गराउँदै अधिकृत कुशवाहले फरार शब्दमा आपत्ति प्रकट गरेका थिए ।