प्रस, ठोरी, १२ साउन/
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ठोरीको संयोजनमा विभिन्न पेशागत माग राख्दै ठोरी गाउँपालिका कार्यालयअगाडि शिक्षक एवं विद्यालय कर्मचारीहरूले प्रदर्शन गरेका छन् ।
ठोरीको स्थगित गाउँसभा पुनः शुरू हुन लागेको पूर्वसन्ध्यामा सङ्गठनमा आबद्ध शिक्षक तथा बालविकास सहयोगी र विद्यालय कर्मचारीले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । गत असार ३१ गते स्थगित भएको सभा बुधवार हुन लागेको छ । त्यसैको तयारीमा मङ्गलवार गाउँ कार्यपालिका कार्यालय घ्याङडाँडामा गाउँ कार्यपालिकाको बैठक जारी भएको समयमा शिक्षकले प्रदर्शन गरेका हुन् ।
छैटौं गाउँँसभामा ठोरीमा कार्यरत सङ्घीय र गापाको अनुदानमा कार्यरत बालविकास सहयोगी, स्वयंसेवक शिक्षक, कार्यालय सहायक र कार्यालय सहयोगीको पारिश्रमिक वृद्धि गर्नुपर्ने, तत्काल विद्यालयमा पठनपाठन शुरू गर्नुपर्ने, शिक्षकलाई तालीम र अध्ययन भ्रमणको व्यवस्था गर्नुपर्ने, शिक्षक र कर्मचारीलाई कोभिडविरूद्ध खोपको व्यवस्था गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको सङ्गठनका अध्यक्ष दीपेन्द्र सापकोटाले जानकारी दिए ।
पालिका कार्यालयमा भेला भएका शिक्षकहरूले विभिन्न पेशागत माग लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । छैटौं गाउँसभामा आफूहरूको माग सम्बोधन गराउन दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको अध्यक्ष सापकोटाले बताए ।
गत आइतवार पनि सङ्गठनले विभिन्न पेशागत माग राख्दै गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको थियो । गाउँसभाबाट शिक्षकको माग सम्बोधन गर्न बजेटको व्यवस्था गर्नुपर्ने सङ्गठनको माग छ । ठोरीमा सङ्घीय अनुदानमा कार्यरत बालविकास सहयोगी, कार्यालय सहयोगी तथा सहायकका अतिरिक्त पालिकाको अनुदानमा मासिक रू ६ हजार तलब पाउने गरी २१ जना बालविकास सहयोगी तथा आधारभूत र माध्यमिक विद्यालयमा १३ जना स्वयंसेवक शिक्षक कार्यरत छन् ।