तालुकान, अफगानिस्तान, १२ साउन /सिन्ह्वा

अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरू सो शहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ ।

सो आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले मङ्गलवार जानकारी दिएको छ । सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतङ्ककारीहरूले तालुकान शहरलाई विभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाईको क्रममा २८ तालिबान लडाकू मारिएका छन् ।

यस कारबाईको विषयमा तालिबान लडाकूले कुनै टिप्पणी गरेका छैनन् । तालिबान लडाकू समूहले तखार प्रान्तका १६ वटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महीनादेखि राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान शहर कब्जा गर्न आक्रमण गरिरहेका जनाइएको छ ।

यसैबीच, तखारका बासिन्दाहरूले गत एक सातादेखि अफगानिस्तानको राजधानी काबुलमा धर्ना दिएका बताइएको छ । केन्द्र सरकारलाई तखारमा थप सेना पठाउन आग्रह गरेका छन् । अन्यथा प्रान्तीय राजधानीसहितको प्रान्त तालिबानले लिने उनीहरूको भनाइ रहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here