वाशिङ्टन, १२ साउन/सिन्ह्वा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । उनले तर पनि अमेरिकाको सेनाले थोरै सङ्ख्यामा मात्र भएपनि इराकमा बसेर इराकी सेनालाई तालीम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन् ।

इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएको बताइएको छ । हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ । उनीहरूबीच सोमवार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो ।

इराकमा हाल २ हजार ५०० जनाभन्दा बढी अमेरिकी सैनिक रहेका छन् । इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतङ्ककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी फौजलाई इस्लामिक स्टेट लडाकूका विरुद्ध लड्न सहयोग गरिरहेको बताइएको छ ।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमैं रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ । अमेरिकाले इराकी प्रधानमन्त्रीलाई सहयोगका लागि यो घोषणा गरेको हुन सक्ने अनुमान गरिएको बताइएको छ । इराकी प्रधानमन्त्री खादिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताए ।

उनले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भनेका छन्– हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ, तर पनि इराकमैं आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालीमका विषयमा सहयोग दिंदा राम्रो हुनेछ ।

गत वर्ष इराकको राजधानी बग्दादमा अमेरिकी सेनाले ड्रोन हमला गर्दा एकजना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको सिया मुस्लिम मिलिसिया समूहका एकजना नेता मारिएका थिए ।

त्यसयता इराकमा अमेरिकी सेनाको झन् ठूलो विरोध भएको थियो । यहाँका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आइएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here