मल आयो तर किसान महँगोमा किन्न बाध्य

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, १५ भदौ/
    लामो प्रतीक्षापछि सरकारी मल प्राप्त गरेका किसान खुशी हुनुभन्दा दुःखी भएका छन्। साल्ट टे«डिङले कृषि सहकारी संस्थाहरूलाई बिक्री गरेको मूल्यभन्दा दोब्बर मूल्य किसानाले बिक्रेता संस्थाहरूलाई तिर्नुपरेको छ।
    किसानहरूलाई आवश्यक परेको बेला लामो प्रतीक्षापछि, साल्ट टे«डिङ कर्पोरेशनले बल्ल भित्र्याएको मल, कृषि सहकारी संस्थामार्फत उपलब्ध गराउँदा संस्थाहरूले किसानहरूसँग परल मूल्यभन्दा दुई गुना बढी लिएको किसानहरूले गुनासो गरेका छन्। पचास किलो युरिया मलको मूल्य रु ७५० हो तर कृषि सहकारी संस्थाले रु १२५० देखि रु १५ सयसम्म लिने गरेको किसानहरूले बताएका छन्।
    जीराभवानी गापा–२ सेढवा र वडा नं. ३ नौकाटोलमा कृषि सहकारी संस्थाले प्रतिबोरा रु १२०० मा बिक्री गरेको किसानहरूले बताए।
    यसैगरी सोही गापाको वडा नं. ४ सुपौलीमा भने रु ८ सय प्रतिबोरा युरिया मल बिक्री गरेको सुपौली सहकारी संस्थाका संयोजक दीपक चौधरीले बताए। पटेर्वासुगौली गापा–३ देकुली र ४ सुगौलीमा प्रतिबोरा रु १५ सयसम्म खरीद गरेको किसानहरूले गुनासो गरेका छन्। मल आवश्यक भएको र बढी मूल्य तिर्नुपरेको किसानहरूले बताए। उनीहरूले सीमा सिल भएकोले भारतीय बजारबाट ल्याउन कठिनाइ भएको र ठाउँ–ठाउँमा सुरक्षाकर्मीहरूले दुःख दिने गरेको सन्दर्भमा सरकारले साल्ट टे«डिङमार्फत मल उपलब्ध गराएको सूचनाबाट खुशी भएपनि परल मूल्यभन्दा दोब्बरमा खरीद गर्नुपर्दा दुःखी भएको बताए।
    पटेर्वासुगौली–३ देकुलीका भागवत चौधरीले किसानलाई आवश्यक परेको बेला सरकारी अनुदानमा आएको मल सहकारी संस्थामार्फत दोब्बर मूल्यमा खरीद गर्नुपर्ने बाध्यता सृजना भएकोमा आपत्ति जनाए। उनले लकडाउन, निषेधाज्ञाको बेला किसानलाई आवश्यक मल, कीटनाशक औषधिको स्थानीय तहबाट जोहो गरिनुपर्ने तर संस्थाहरूले बढी मूल्यमा बिक्री गर्दा कारबाई नगरिएकोमा गुनासो गरे।      
    जीराभवानी गापा–२ सेढवास्थित बजरङ्ग खाद भण्डारका सञ्चालक सत्यनारायण साहले साल्ट टे«डिङ कर्पोरेशनले युरिया मलका साथै जिङ्क पनि खरीद गर्नुपर्ने बाध्य पारेको छ तथा वीरगंजबाट गाउँसम्म ल्याउँदा ६ ठाउँमा सुरक्षाकर्मी र टोलका दादाहरूले रङ्गदारी लिने गरेकोले युरिया मल महँगोमा बिक्री गर्नुपरेको बताए। उनले ६ ठाउँमा प्रहरीले ट्याक्टर रोकेर रकम नलिई नछाडेको दुःखेसो पोखे। मलमा समेत प्रहरीले रङ्गदारी लिएको उनको आरोप छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।