राधेश्याम पटेल, परवानीपुर, ११ साउन/

पेट्रोलियम पदार्थ आपूर्ति गर्न बनाइएको मोतीहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनमा समस्या आएको छ । वीरगंजदेखि ८ किलोमिटर उत्तरमा परवानीपुरको हुनमान मन्दिरनजीकै समस्या आएको हो । पाइपलाइनबाट तेल आपूर्ति गर्ने प्रेशर पम्पमा समस्या आएको हो ।

परवानीपुरस्थित पाइपलाइनको भल्भमा समस्या आएपछि नेपाल आयल निगमले भारतीय प्राविधिकबाट पाइपलाइनको मरम्मत गराइरहेको छ । नेपाल आयल निगम अमलेखगंज डिपोका प्रमुख प्रदीप यादवका अनुसार भल्भमा समस्या आएपछि इन्डियन आयल कर्पोरेशनको सहयोगमा भारतको कर्नाटक राज्यबाट प्राविधिक झिकाइ उक्त पाइपलाइनको मरम्मत कार्य भइरहेको छ । “पाइपलाइनबाट अहिले पनि डिजेल निर्बाधरूपमा आइरहेको छ, प्रेशरमा केही समस्या थियो”, उनले भने, “भारतीय कम्पनी प्लान्ट टेक इन्डस्ट्रिज सर्भिसेज लिमिटेडबाट एक सातादेखि मरम्मत कार्य भइरहेको छ ।” उनले मरम्मत सम्भारले डिजेल आपूर्तिमा कुनै खासै असर नपरेको पनि प्रस्ट्याए ।

उनले भने, “पाइपलाइनबाट आउने डिजेल आपूर्तिमा कुनै असर परेको छैन, प्राविधिकले  भर्टिकल भल्भमा जोडेर मरम्मत कार्य गर्छन्, तेल आइरहन्छ, मरम्मत पनि भइरहन्छ ।” २०७६ भदौ २४ गते मोतीहारी–अमलेखगंज पाइपलाइन सञ्चालनमा आएको थियो । भारतको ३२० करोड र नेपालको १२० करोड गरी कुल ४४० करोड रुपैयाँमा निर्माण भएको ७० दशमलव २ किलोमिटर लम्बाइको पाइपलाइनमा अहिले डिजेल मात्र आउँछ । पाइपलाइन निर्माणपछि आयल निगमको वार्षिक ढुवानी र प्राविधिक नोक्सानीबापत करीब ४ अर्ब रुपैयाँ जोगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here